बुढानिलकण्ठ नगरपालिकाले गोकर्णेश्वरसँग सहीदपार्क दावी गर्ने

बुढानिलकण्ठ नगरपालिकाले गोकर्णेश्वरसँग सहीदपार्क दावी गर्ने

bunpa

कपन अनलाइन, १३ भदौ, २०७३

साविक कपन गाविसको नापीको श्रेस्तामा गोकर्णेश्वर नगरपालिकामा रहेको सहीदपार्क देखिएपछि बुढानिलकण्ठले सो पार्कमा आफ्नो दावी गर्ने भएको छ । सहीदपार्कका एकतिहाई भाग बुनपामा पर्ने देखिएपछि बुनपाले आधिकारिकरुपमा सो पार्कमा आफ्नो दावी प्रस्तुत गर्न लागेको हो ।

निर्माणाधिन सहिदपार्क राजधानीको महत्वपूर्ण स्थल हुने भएकोले सो पार्कभित्र बुनपाको वडा नं. १९ को क्षेत्रफल पर्ने भएका कारण दावी गर्नु वाञ्छनीय भएको बुनपा कार्यकारी अधिकृत विश्वराज मरासेनीले कपन अनलाइनलाई बताए । मरासेनीका अनुसार कपन गाविसको पुरानो सिमा अध्ययन गर्दा गोकर्णेश्वर नगरपालिकामा रहेको भनिएको सहीदपार्क बुढानिलकण्ठ नगरपालिकामा पनि पर्ने भएकोले सशक्त दावी गरी आफ्नो परिचय स्थापनामा पहल गरिने बताए ।

कार्यकारी अधिकृतको यो दावीमा बुनपाभित्रको सहजीकरण समितिले सबैको सम्मति रहेको छ । यो परिचयको विषय हो किन छाड्ने माओवादी केन्द्रका रविन अधिकारीले बताए । यो परिचयसँगै यसबाट भोलि हुने आम्दानी तथा अन्य विषयसँग सम्बन्ध हुने भएकाले जसरी पनि सो पार्क दुइवटै नगरपालिकामा रहेको भनेर सरकारी अभिलेख तयार गर्न पहल गरिने अधिकारीले बताए ।

यो विषयमा नेकाका राजराम बुढाथोकी, एमालेका विदुरविक्रम खड्कालगायत नयाँशक्ति नेपालका शिब बजगाइँसमेतले समान विचार रहेको छ । यसअघि आज बुनपा कार्यकारी अधिकृत मरासेनीसहित सहजीकरण समितिका प्रमुख दलहरु सिमा निरीक्षणमा निक्लिएका थिए ।

तपाइँको प्रतिक्रिया ।