कार्यक्रममा बोलाइएन भनेर के के रोइलो !!!

कपन अनलाइन, २४ साउन, २०७३/दृष्टिकोण

bizendra

– बिजेन्द्र पुडासैनी

बूढानिलकण्ठ नगरपालिकाको नेपाली कांग्रेस तरुणदल गठन सम्पन्न भइसकेको व्यहोरा सबै सम्बन्धितलाई विदित भैसकेको छ । नवनियूक्त अध्यक्ष राजु बिक्रम थापालाई बधाई तथा शुभकामना छ ।

कार्यक्रम विधिवतरुपमा औपचारिक तवरबाट भव्यरुपमा सुरु गरियो, सभ्यचाहिँ भयो भएन त्यसतर्फ म जान चाहिन । सभापति, प्रमुख अतिथि, अतिथिहरुको आशन ग्रहण, मौन धारण, दीप प्रज्ज्वलन, राष्ट्रिय गान, स्वागत मन्तव्य सबै क्रमशः भएको थियो । पार्टी प्यालेसमा संचालित सो कार्यक्रममा हल भित्र बस्दै गर्दा गर्मि महसुस गर्नु स्वभाविक नै थियो । तर हल बाहिर बसेका जमातमा गर्मी बढेको अलि अस्वभाविक पो लाग्यो । अनि कुरोको चुरो बुझ्ने चेष्टा गरियो, भएछ के त भन्दा निवर्तमान नगर समन्वय समितिका संयोजकको कुनै भुमिका भएन रे । नगर समितिका अध्यक्षलाई अपमान गरियो रे । अनि निवार्चित पदाधिकारीहरुलाई खबर नै नगरी कार्यक्रम तय गरियो रे । अरे वाफ रे, अनि मलाई पनि खलखल पसिना आई हाल्यो । कत्रो अपराध भएछ त है ।

त्यत्रो कार्ड छापिएकै हो(बाँडियो बाँडिएन त्यतातिर म जान चाहिन), व्यानर राखिएकै हो, कहाँ कतिखेर भन्ने नलेखिएको मोवाइल सूचना सम्प्रेषण भएकै हो । यति गर्दा पनि थाहा भएन भन्ने, यत्रो ठूलो अपराध

आखिर यो सब आरोप कोतर्फ इंगित छ भनेर ठम्याउन मलाई धेरैवेर लागेन ।
यी आरोप बू.न.पा क्षेत्र नं. ४ का क्षत्रीय सभापति श्री राजु श्रेष्ठलाई लगाईरहेको थियो । एक झुण्ड ताराबाजी गर्ने सुरसारमा पनि आए । त्यस कथाको पटकथामा यस दृष्य थियो थिएन त्यो रचनाकार नै जानुन् । झण्डैझण्डै कथाले बू.न.पा.नेका को प्रथम नगर अधिवेशनको क्लाइमेक्सको झल्को दिई सकेको थियो ।

सो झुण्ड नारा जुलुस गर्दै बुढानिलकण्ठतिर पार्टी सभापतिको निवास प्रस्थानको तयारीमा थियो । सोही समयमा नेका पार्टी सभापति साइरन जडित सवारीमा त्यसै स्थानलाई ओझेल पार्दै अन्यत्र सवारी भयो । यता विरोध पत्र ज्ञापन गर्ने कार्यक्रमको बैधानिकता बारे टिका टिप्पणी हुँदै थियो, त्यतिन्जेल सम्ममा माननीय प्रमुख अतिथि ज्यूले आफ्नो मन्तव्य व्यक्त गरेर हिड्ने सुर–सार गरी सक्नु भएको थियो । विरोधपत्र यत्तिकै रह्यो ।

अब पालो तरुणदल बुनपा कमिटि गठन गर्ने । उम्मेदवार मनोनयन प्रकृया अगाडी बढ्यो आवेदन दिन आतुरहरु लाइन लागे । निर्वाचन मण्डलले आफ्नो काम पूरा भएको दावी गरे । विरोध, मनोनयन फिर्ता, अरु केके नाममा समय तोकियो अनि सबै समय सकियो । अन्ततः खल्तिबाट एउटा कागज निकालियो सर्वसम्मत भयो । नेपाल तरुण दल बूढानीलकण्ठ नगरको प्रथम नगर अधिवेशन निमन्त्रणा पत्रमा(जुन पत्र बाँडिएन पनि भनिएको छ) उल्लेख भए बमोजिम भव्य रुपमा सफल भयो ।

यस नगरमा राष्ट्रिय राजनितिको जोड घटाउले समेत क्षेत्र नं. ४ को भूमिका उल्लेखनीय हुने भएकाले यस नगरभित्र हुने नेपाली कांग्रेसको जुनै पनि कार्यक्रमको व्यवस्था सबैलाई चित्त बुझाएर गर्नु पर्ने दायित्व धेरै क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठको नै हो । त्यसो त जुझारु नेता राजु श्रेष्ठ यस क्षेत्रमा हरेक हप्ता केही न केही संगठनिक कार्यक्रममा व्यस्त रहन्छन् संगठन बलियो बनाउनु पर्छ भन्ने अभिव्यक्ति पनि बाँड्छन् । उनी जाने कार्यक्रममा यूवा यूवतीको जमघट पनि बाक्लै हुन्छ यद्यपि एउटै अनुहारमात्र दोहोरिएको आरोप भने लाग्छ ।

संगठन विस्तार गर्ने, यूवा परिचालन गर्ने, जिम्मेवारी दिने सबै कुराहरु आफ्नै ढंगबाट गर्दै आएका श्रेष्ठलाई मनोमानी ढंगबाट पार्टी संचालन गरियो भन्नु के उपयुक्त हो त ? सभापति श्रेष्ठलाई अर्को आरोप के छ त भन्दा आफ्नोबाहेक अरुको कुरा नसुन्ने ।

होइन, यस प्रसंगमा मैले बुझ्न नसकेको कुरा के राजु श्रेष्ठ कानै नसुन्ने हुन् त ?

बिबिध आरोप खेपिरहेका श्रेष्ठलाई चियापान गर्दैमा कोही कांग्रेसको अनुयायी हुँदैन भन्न समेतपछि पर्दैनन् क्षेत्रीय सदस्यहरुनै । तरुणदल बूढानिलकण्ठको प्रथम नगर अधिवेसनमा आफुलाई बोलाइएन भन्दै एक निर्वाचित क्षेत्रीय पदाधिकारी आफ्नो सामाजिक संजालमा अभिव्यक्ती नै पोखिन विचरा । उनले पार्टी सभापतिकोमा पुग्ने जानकारी समेत गराइन् । अब क्षेत्रीय सभापतिज्यूलाई लाग्ने नयाँ आरोप “आफ्नै कार्यसमितिलाई त बोलाइएन अरुलाई के बोलाउलान्” ।

त्यसो त अझै केहि बिग्रिएको छैन, क्षेत्रीय पदाधिकारीहरु क्षेत्रीय सभापतिसँग रुष्ट हुने अनि क्षेत्रीय सभापति अन्य पदाधिकारीसँग रुष्ट भई नै रहने हो भने ढुक्क हुनुस् अब आउने स्थानीय चुनावमा पक्कै तेस्रा हुनेछौँ ।

नेपाली कांग्रेसको संगठन ठूलो छ नेतृत्व सम्हाल्ने व्यक्ति जिम्मेवार हुनुपर्छ । हृदयमा इमान्दारी काँधमा जिम्मेवारी मस्तिष्कमा समझदारी कायम गरी कार्य थालनी गर्नुपर्ने बेलामा एकआपसमा आरोप प्रत्यारोपको सिलसिला कहिले सम्म चल्ने हो ? ढिलो चाडो यसको नतिजा अवश्य आउने छ । तर त्यो समय सम्म पुग्दा हामीसँग सबै भएर पनि केही हुने छैन । त्यसैले कि अन्य कार्यकर्ताले बेथितिमा रोइलो गाउन छाडे लगाइएका यी सब आरोपको जिम्मेवारी लिँदै कतै क्षेत्रीय सभापतिज्यूले जादुको छडी घुमाई पो हाल्छन् की ?

सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया !!! जय नेपाल !!!

तपाइँको प्रतिक्रिया ।