कम्पाउण्ड अनि नयाँ गेटसहितको कपन चौकी

कम्पाउण्ड अनि नयाँ गेटसहितको कपन चौकी

13439172_1091821904190201_8601580920651694396_n

कपन अनलाइन, १८ असार, २०७३

अन्तत: कपन चौकी कम्पाउण्डसहितको गेटभित्र स्थापित भएको छ ।  महानगरीय प्रहरी प्रभाग कपनको यो भवन  स्थापना भएदेखि नै खुल्ला थियो । चौकी जस्तो संवेदनशिल क्षेत्र खुल्ला रहनु अत्यन्तै चुनौतिपूर्ण त थियो नै खुल्ला भएकै कारण अनावश्यक मान्छेहरूलाई चौकी परिसरमा रोक्न पनि धौ धौ थियो प्रहरीलाई । त्यसो त करिव १ लाख मानिसलाई सुरक्षा प्रदान गर्नुपर्ने चौकीको भवनआफै पनि भर्खर भर्खरै मात्र पूर्ण हुँदैछ । लामो समयसम्म झ्याल ढोका बिना पनि चौकी चलिरह्यो ।  हालै मात्र दरबन्दीसहित प्रहरी निरीक्षक फणिन्द्र रानाभाट आएका हुन् कपन चौकीमा । रानाभाट आएपछि  चौकीले आफ्नो स्वरूपमा परिवर्तन पाएको छ ।

चारैतिर खुल्ला रहेको चौकीमा पर्खाल लगाउने काम लगभग सकिएको छ । दुई तल्ले पक्की भवन पनि भवनजस्तो देखिने भएको छ । रङरोगन मात्र बाँकी छ । रङरोगनका लागि पनि बुढानिलकण्ठ नगरपालिकासँग कुरा भईसकेको छ ।

तस्वीरमा देखिएको गेेट  चौकीको प्रवेशद्वार भने तत्कालै बन्ने अवस्था थिएन । यस्तो अवस्थामा निरीक्षक रानाभाटले कपन क्षेत्रका स्थानीय समाजसेवी/व्यापारीलाई गेट बनाईदिन आग्रह गरे । उनको आग्रहलाई केहि समाजसेवीहरूले सहर्ष स्वीकार गरे, गेट बनाईदिए अनि आज एक सानो औपचारिकता निभाउँदै चौकीलाई हस्तान्तरण पनि गरे । समाजसेवीहरू रघु भण्डारी, सगुन कुमार भण्डारी, चक्रध्वज भण्डारी, राजेश श्रेष्ठ, बइन बहादुर श्रेष्ठ, शुशिल कुमार श्रेष्ठ, सुशन श्रेष्ठ, भिम बहादुर श्रेष्ठ र नवराज बस्नेतले करिव ९० हजार लगाएर बनाएको प्रवेशद्वार(गेट) चौकीलाई हस्तान्तरण गरेका हुन् । चौकी नयाँ बने पनि हालसम्म भवन उद्घाटन भने भएको छैन नि भन्ने कपनअनलाइनको प्रश्नमा निरीक्षक रानाभाटले भने भवन बन्यो, पर्खाल लगाउने काम हुँदैछ, गेट पनि बन्यो बाँकी रंगरोगन छ, त्यसपछि हालसम्म चौकी निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरूलाई समेटेर औपचारिक उद्घाटन गरिने छ।

तपाइँको प्रतिक्रिया ।