विकास पत्रकारिता आवश्यक ः अध्यक्ष कार्की
कपन अनलाइन /धनगढी, २१ जेठ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले विकास पत्रकारिता अबको आबश्यकता भएको बताउनुभएको छ ।
‘पब्लिक मिडिया फाउन्डेसन’को यहाँ स्थापना गरिएको कार्यालयको बिहीबार उद्घाटन गर्दै कार्कीले देशमा राजनीतिक ‘एजेन्डा’ले बाटो लिइसकेकाले विकास पत्रकारिता अपरिहार्य भइसकेको उल्लेख गर्नुभयो ।
देशको विकास कसरी गर्न सकिन्छ भनेर अब सञ्चारमाध्यमले जनतालाई सूचनामार्फत सशक्तीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मोफसलका सञ्चारमाध्यमले भोगेका समस्या समाधानका लागि काउन्सिलले सम्बन्धित निकायसँग आग्रह गरेको समेत कार्कीले बताउनुभयो ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँ लगायतले पत्रकारिताको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
पत्रकार पहल साउद र हरिश बिक लगायतको पहलमा हालै स्थापना गरिएको उक्त फाउन्डेसनले टेलिभिजन, एफएम रेडियो, अनलाइन सेवा, संवाद लगायतका कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ । रासस (फोटो : बोर्ण बहादुर कार्कीको फेसबुक बाट )