अर्गेली नामक वनस्पतिको सम्भाव्यता अध्ययन सुरु

अर्गेली नामक वनस्पतिको सम्भाव्यता अध्ययन सुरु

argeli

कपन अनलाइन, इलाम, ९ जेठ, २०७१

जापानी यन (जापानी पैसा) बनाउन प्रयोग गरिने अर्गेलीको खेती प्रवद्र्धन गर्न जापान सहयोग नियोग (जाइका)ले इलाममा सम्भाव्यता अध्ययन सुरु गरेको छ । वर्षौंदेखि नेपालबाट निकासी हुँदै आएको अर्गेलीको नयाँ उत्पादन क्षेत्रका रूपमा पहिचान गरी वैशाखदेखि इलाम र पाँचथर जिल्लामा जाइकाले सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

नेपालमा विगत दुई दशकअघिबाट अर्गेली उत्पादन भए पनि यसको व्यावसायिक रूपमा खासै उत्पादन हुन सकेको थिएन । जापानमा सरकारी प्रकाशन कान्पोउ इन्क नामक संस्थाले यसको निकासी प्रवद्र्धन गर्दै आएको छ । कान्पोउले निजी तवरबाट नेपालका १० जिल्लामा बजार व्यवस्थापन गरिरहेको कान्पोउ नेपालका प्रवन्ध निर्देशक हरि श्रेष्ठले बताउनु भयो ।

कान्पोउ जापानका अध्यक्ष तादासी मात्सुबाराले नेपालमा अर्गेलीको खेती मात्र भएको र उपयोगमा नरहेकाले यसको उत्पादन वृद्धि गर्न जाइकामार्फत सम्भाव्यता अध्ययन सुरु गरिएको बताउनुभयो । उत्पादन कसरी बढाउन सकिन्छ भनेर इलाम र पाँचथरका विभिन्न स्थानमा कन्सल्टेन्टसमेतको टोली परिचालन भएको उहाँले जानकारी दिनुभयो ।

कान्पोउमार्फत इलाम जिल्लाबाट गत वर्षमात्र १५ क्विन्टल अर्गेली निकासी भएको हीराधन राईले जानकारी दिनुभयो । यो वर्ष करिब पाँच टन अर्गेली निकासी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । जापानमा जापानी इन र पासपोर्ट बनाउन अर्गेलीको प्रयोग गरिने र यसको माग वार्षिक सय टन रहेकोमा नेपालमा भने वार्षिक ५० टनसम्म उत्पादन भइरहेको श्रेष्ठको भनाई छ । जापानमा धेरै चाहिने र निजी कम्पनीले धेरै स्थानमा सङ्कलन गर्न गाह्रो भएकाले सरकारी प्रयास जरुरी भएको पनि संस्थाले जनाएको छ । इलामको मावु, माईमझुवा, चमैता, पुवामझुवा, साँखेजुङ, माईपोखरीलगायतका गाविसमा अर्गेली पाइन्छ । जापानमा अर्गेलीलाई मित्सुमाता भनेर चिनिन्छ । रासस

तपाइँको प्रतिक्रिया ।