राजधानीमा विप्लवको शक्ति प्रदर्शन, पानीले पनि असर गरेन !!!

राजधानीमा विप्लवको शक्ति प्रदर्शन, पानीले पनि असर गरेन !!!

13234959_851871441591395_610378594_o

कपन अनलाइन, जेठ ८, २०७३

अशोकराज पाण्डे/  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले राजधानीको खुल्लामञ्चमा वेपत्ता योद्धा स्मृति दिवस पारेर विशाल जनसभाको आयोजना गरेको छ । १० माओवादी घटकहरूले अघिल्लो दिन पार्टी प्यालेसमा गरेको पार्टी एकताको भोलीपल्टै विप्लव माओवादी एक्लैले करिब २५ हजारको संख्यामा खुल्लामञ्चमा आफ्ना नेता कार्यकर्ता र शुभेच्छुक जनता उतारेको छ ।

सभामा नेकपा माओवादीका महासचिव विप्लवको सम्बोधनले विशेष महत्वको थियो । झमझम पानीमा विप्लव आफै भिज्दै भाषण गरिरहेका थिए भने माओवादी कार्यकर्ता पनि पानीको प्रभाव नगरी रूझ्दै विप्लवको भाषण सुनिरहेको देख्दा लाग्थ्यो माओवादी प्रति आस्था राख्ने र माओवादी आन्दोलनलाई समर्थन गर्नेहरू विप्लवप्रतिको क्रेज निकै छ ।

जनसभामा आक्रामक शैलीमा प्रस्तुत भएका विप्लवले शान्ति सम्झौतामा भएका बुदाँहरू राज्य पक्षबाट उल्लङ्घन भएमा माओवादी चुप लागेर नबस्ने बताए । उनले भने – ‘जुन दिन हाम्रा नेता कार्यकर्ताको घरमा म्याद टाँसिन्छ त्यस दिन केपी ओलीको घरमा पनि म्याद टाँसिन्छ ।’ उनले थप्दै भने संसदवादी पार्टीहरूलाई जनताको एक इन्च पनि माया छैन । देश दलालहरूको हातमा गएको छ । संसदवादी पार्टीहरू जनताको माया भन्दा नि मन्त्री, प्रधानमन्त्री को र कसरी बन्ने भन्ने ध्याउन्नमा मात्रै रहेको आरोप पनि लगाए ।

13282547_851871578258048_1190294240_o

महासचिव विप्लवले थप्दै भने – ‘देशमा दुई सत्ता र दुई अदालत छ । एउटा सत्ताको प्रतिनिधि सभा आइसीसीमा छ भने अर्को सत्ताको जनप्रतिनिधिसभा जनताको बीचमा छ । एउटा सरकारमा केपी ओली प्रधानमन्त्री छन् भने हामीसँग अर्को जनसरकारको प्रमुख सन्तोष बूढा मगर हुनुहुन्छ । त्यस्तै यहाँ सुशीला कार्की मात्रै प्रधानन्यायाधीश होइन, अर्को पनि प्रधानन्यायाधीश छ भन्ने हेक्का राख्नुपर्छ ।’ उनले नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीहरुलाई देश बेच्ने दलाल नेता र सत्ताका पछाडि नलागेर देश र जनताको साँच्चिकै विकास गर्ने सेवा गर्ने अभियानमा लाग्न आग्रह गरे । उनले भने, अब तपाईहरु कसको पक्षमा उभिने हो त्यो प्रश्न आएको छ । देशलाई जहिले पनि गुमराहमा राख्ने, कमिशन, भ्रष्टाचार, दलाली, गुलामी गरेर आफ्नो मात्र दुनो सोझ्याउने, परेको बेला देशै बेच्न पनि पछि नपर्नेहरुका पछि लाग्ने कि जनताको साँच्चिकै सेवा गर्नेहरुका पक्षमा लाग्ने ? यो कुरा तपाईहरुले प्रष्ट पार्नुहोस् । नेपाली सेनालाई हामी हातेमालो गर्न अपिल गर्दछौं । यदि हाम्रो अभियानमा सहयोग गर्नुहुन्छ भने हामी हातमा हात मिलाउन तयार छौ ।  यदि दलालहरुसँग मिलेर लड्न आउनुहुन्छ भने हामी छाती खोलेर लड्न तयार छौं ।’

भारतप्रति पनि आक्रोशित देखिएका महासचिव विप्लवले भने – ‘दार्जिलिङ्गका नेपालीभाषीलाई अधिकार नदिने भारतले मधेसको अधिकारका विषयमा बोल्ने अधिकार कसले दियो?’

जेठ ७ लाई माओवादीहरुले बेपत्ता योद्धा स्मृति दिवसका रुपमा मनाउँदै आएका छन्। २०५५ साल जेठ ७ गते काठमाडौंको सुन्धारास्थित टेबहालबाट माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने, पत्रकार मिलन नेपाली, नवीन गौतम र कमला शर्मालाई प्रहरीले गिरफ्तार गरी बेपत्ता बनाएको थियो। यही दिनको सम्झनामा माओवादीहरुले बेपत्ता स्मृति दिवस मनाउने गरेका छन्।

माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा कम्युनिष्ट न्युकिलियसका संयोजक हेमन्तप्रकाश ओलीले विप्लव माओवादीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई समर्थन गर्दै त्यसमा सशस्त्र युद्ध थप्न सल्लाह दिएका थिए । त्यसैगरी उनले प्रचण्डले माओवादीको बिउँ नै मास्न लागिपरेकाले माओवादी ध्रुविकरणमा जोड दिएका थिए ।

कार्यक्रममा बेपत्ता योद्धा परिवारका तर्फबाट एकराज भण्डारी, माओवादी स्थायी समति सदस्य धर्मेन्द्र बास्तोला, पार्टी पिबिएम असारे काकाले पनि मन्तव्य राखेका थिए भने सामना जनसाँस्कृतिक महासंघको प्रस्तुतिका साथै विविध साँस्कृतिक झाँकीका साथै मार्शल आर्ट पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ लाई पनि निमन्त्रणा गरिएको भएतापनि उनको उपस्थिति भने रहेन ।

तपाइँको प्रतिक्रिया ।