अव प्रेस चौतारीको झण्डा सगरमाथामा
काठमाडौं । प्रेस चौतारी नेपालको झण्डा अव सर्वोच्च शिखर सगरमाथामा फहराउने भएको छ । सगरमाथा आरोही लाक्पागेलू शेर्पाले प्रेस चौतारी नेपालको झण्डा सगरमाथामा लैजान लागेका हुन् ।
विहिवार काठमाडौंमा प्रेस चौतारी नेपालको झण्डा आरोही शेर्पालाई हस्तान्तरण गरियो । चौतारीका कार्यालयमा एक कार्यक्रम बीच चौतारीका अध्यक्ष राजेन्द्र अर्यालय र महासचिव माधव नेपालले झण्डा शेर्पालाई प्रदान गरेका थिए ।श्रमजीवी पत्रकारहरुको अगुवा संगठनको झण्डा सगरमाथामा लगेपछि यसको मान अझै बढ्ने बिश्वास लिईएको छ ।
११ पटक सगरमाथाको आरोहण गरिसकेका ३८ बर्षीय शेर्पा सोलुखुम्वू जिल्लाको दूधकुण्ड नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनी शुक्रवार सर्वोच्च शिखरको आधारशिविर तर्फ जाँदैछन् । नेकपा(एमाले) सोलूखुम्वुका सदस्य रहेका शेर्पाले चौतारीको झण्डा सगरमाथामा लैजान पाउनु गौरवको बिषय रहेको बताए ।
प्रेस चौतारी सोलुखुम्वूको समन्वयमा भएको यो कामले आफूलाई अझै परिपक्व वनाउने शेर्पाको भनाई छ । प्रेस चौतारी नेपालका पाँचहजार बढी सदस्य नै सगरमाथाको चुचुरोमा पुगेको अनुभूति हुने गरी सर्वोच्च शिखरमा यो झण्डा फहराउने शेर्पाको बचनबद्धता रहेको छ । प्रेस चौतारी नेपालले आठौं राष्ट्रिय अधिबेशनको प्रचारप्रसारको तयारी संगै यो काम गरेको महासचिव माधव नेपालको भनाई छ । चौतारीको आगामी जेठ ६,७ र ८ गते राष्ट्रिय अधिबेशन काठमाडौंमा हुदैछ ।