दंगालको अध्यक्षतामा  कास्कून सञ्चालक समिति निर्वाचित

दंगालको अध्यक्षतामा  कास्कून सञ्चालक समिति निर्वाचित

 कपन अनलाइन/चैत १०, २०७२

काठमाडौंभित्र रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) ले आफ्नो बाह्रौं वार्षिक साधारण सभा मार्फत आगामी तीन वर्षका लागि नेतृत्व चयन गरेको छ ।  चैत्र ५ गते सम्पन्न साधारण सभाले केशवप्रसाद दंगालको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र कमलराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको चयन गरेको हो । यस अघि निवर्तमान अध्यक्ष शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभाको खुल्ला सत्रमा कास्कूनको विगत, वर्तमान र आगामी कार्यभारका बारेमा चर्चा गरिएको थियो ।

12516329_1137390536293920_13792960_n

साधारणसभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा व्यवस्थापिका संसद्का सदस्य माननीय केशव बडालले सहकारी क्षेत्रमा देखिएका समस्या, प्रस्तावित सहकारी ऐन, नेपालको आर्थिक समृद्धिमा सहकारीको भूमिका लगायतका विषयमा आफ्नो मन्तव्य राखेका थिए । त्यसैगरी अतिथिका रुपमा माननीय ओमदेवी मल्ल, पशुपति चौंलागाईं राष्ट्रिय सहकारी संघका सदस्य चन्द्र ढकाल, नेफ्स्कूनका उपाध्यक्ष डि.बी. बस्नेत लगायतले साधारण सभाको सफलताको शुभकामना गरेका थिए ।

कास्कूनको निर्वाचन, सहकारी क्षेत्रको एक उदाहरणीय कदम

नेपालभित्र विषयगत सहकारीका जिल्ला संघ हुन् वा जिल्ला संघ हुन् अधिकांशमा निर्वाचन हुने गरेको देखिन्छ । अझ नेपालजस्तो देश जहाँ हरेक निर्णय राजनीतिक आस्थाका आधारमा गरिन्छ । विद्यालयदेखि हरेक सामाजिक संघसंस्थामा पार्टीगत आधारमा प्यानल तयार भई तामझामका साथ निर्वाचन भएको देख्न पाइन्छ । यस्तो परिवेशमा राजधानी काठमाडौंको बचत संघको नेतृत्व चयन सर्वसम्मत रुपमा हुनेमा कोही पनि विश्वस्त थिएनन् । सबै पार्टीहरु कुनै न कुनै रुपले संघको नेतृत्व लिन दिलोज्यान लगाउँदै थिए । यसको पुष्टि त त्यतिबेला भयो जब अघिल्लो आर्थिक वर्षमा करिब दुई सयको हाराहारीमा रहेका कास्कूनको सदस्यता साधारण सभाको घोषणाको दिनसम्म आइपुग्दा ५०४ मा पुग्यो । यो सदस्यता बढ्नुमा आफ्नो विचारको व्यक्तिलाई संघको नेतृत्वमा पु¥याउनु नै थियो । यस्तो अवस्थामा पनि केही सहकारी अभियन्ताहरु सहकारीको क्षेत्रमा सहकार्य र सहमतिमार्फत अगाडि बढ्नुपर्छ भन्ने विचार राख्दै आन्तरिक रुपमा छलफल गर्दै थिए । सहकारी क्षेत्रलाई नीजि क्षेत्रले चौतर्फी प्रहार गरेको अवस्थामा भाइ फुटे गवाँर लुटे भन्ने अवस्थामा सहकारीलाई लैजानुहुन्न भन्नेमा उनीहरु एकमत भए र सर्वसम्मतिको अवस्था बन्यो ।

को हुन् त सहमतिका सूत्रधार?

यसरी सहमतिको सम्भावनाहरु खोज्न एमालेका तर्फबाट बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून)का सञ्चालक दिपक पनेरु, नेपाली काँग्रेसका तर्फबाट जिल्ला सहकारी संघ, काठमाडौंका कोषाध्यक्ष मनोज भण्डारी र एमाओवादीका तर्फबाट सहकारीकर्मी सुदर्शन थापा आन्तरिक रुपमा छलफलमा जुटेका थिए । यी युवा सहकारी अभियन्ताहरुको निरन्तरको छलफलले चैत्र ४ गते मूर्तरुप लियो र नयाँ बानेश्वरमा एमालेका सांसद पशुपति चौंलागाईं, राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल , संघका संचालक चन्द्र ढकाल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौंलागाईं, कास्कूनका तत्कालीन अध्यक्ष शम्भु घिमिरेको उपस्थितिमा नेफ्स्कूनका महासचिव परितोष पौडेलले सहमतिका साझा उम्मेदवारको घोषणा गरेका थिए ।

एमाले र माआवादीले सहजै मिलाए, काँग्रेसलाई गाह्रो

साझा उम्मेदवार घोषणापछि चाबहिलस्थित संघको कार्यालयमा उम्मेदवारी दर्ता गर्दा आवश्यकभन्दा धेरै उम्मेदवारी परेपछि सहमतिका सूत्रधारहरु फेरि सकसमा परे । एमालेका आकाँक्षीहरुलाई सोही दिन साँझसम्म दिपक पनेरुले समन्वय गरी सहमत गराए भने माओवादीमा खासै ठूलो समस्या देखिएन । तर काँग्रेसका तर्फबाट धेरै उम्मेदवारी परेपछि मनोज भण्डारी र चन्द्र ढकाल भोलिपल्ट बिहानसम्म तनावमा देखिन्थे । अन्त्यमा त्यहाँ पनि सहमति भयो र सञ्चालकहरु निर्विरोध हुने अवस्था बन्यो ।

कस्तो छ कास्कूनको टिम ?

अध्यक्ष: केशवप्रसाद दंगाल, उपाध्यक्ष: प्रकाश श्रेष्ठ, सचिव: नवराज अर्याल कोषाध्यक्ष: गोविन्द काफ्ले, सदस्यहरु: देव नारायण चौंलागाईं, तारा सापकोटा, पुरुषोत्तम नेपाल, वीरेन्द्र भण्डारी, लेमन श्रेष्ठ, राजन ईटनी, रमिला श्रेष्ठ, निरञ्जन सेढाईं, राजकुमार खड्का, सुवास घिमिरे, नवराज तामाङ् लेखा सुपरीवेक्षण समिति संयोजक: कमलराज अधिकारी सदस्यहरु: गोवर्धन के.सी., शालिकराम पुडासैनी

को हुन् अध्यक्ष केशव दंगाल ?

जोरपाटी स्थित श्री जोरपाटी साकोसका सचिव केशव दंगाल चाबहिलस्थित सेन्ट लरेन्स कलेजका अध्यक्ष हुन् । उनी कपनमा पनि व्यवसायिकरुपले आबद्ध छन् । कपनस्थित त्रिज्योति उच्च मा.वि.का पनि अध्यक्ष हुन् । दर्तावाल लेखा परीक्षक दंगाल कानून व्यवसायी समेत हुन् ।

कपनका पुरुषोत्तम नेपाल कास्कूनका संचालक

यसपटकको कास्कुनको संचालक समितिमा कपनबाट पुरुषोत्तम नेपाल पनि परेका छन् । उनी  एमालेका बुनपा १४ का संयोजक हुन् भने कपन बहुमुखी क्याम्पसको व्यवस्थापन समिति सदस्यको जिम्मेवारी समेत उनले पूरा गरिसकेका छन् । एमालेको कोटाबाट उनी यसपटक कास्कूनको सञ्चालकमा पर्न सफल भएका हुन् ।

तपाइँको प्रतिक्रिया ।