राजाराम बुढाथोकी नगरपालिका प्रतिनिधि भएपछि नेकामा विवाद निम्तियो
कपन अनलाइन /फागुन १०, २०७२
युवा नेता गगन थापाको निर्वाचन क्षेत्रमा थापाका कट्टर आलोचक राजु श्रेष्ठ १३ औँ अधिवेशनमा क्षेत्रीय सभापति बनेपछि यो क्षेत्रको नेका राजनीतिमा विवाद तथा तनाव निम्तिने सबैले आंकलन गरेका थिए । सभापतिमा राजु श्रेष्ठ निर्वाचित भएपछि पहिलो गहन निर्णय स्वरुप बुढानिलकण्ठ नगरपालिकामा प्रतिनिधिको रुपमा कपनका राजाराम बुढाथोकीलाई पठाएपछि नेका क्षेत्र नं. ४ मा हलचल मच्चिएको छ । बिधिबतरुपमा नगर सभापति बनेका गणेश कोइरालासँग एकवचन पनि नसोधी एकाएक बुढाथोकीलाई नगरपालिका प्रतिनिधि बनाएपछि यो विषय गगन थापा र राजु श्रेष्ठबीचको आपसी टक्करको परिणाम भएको बताइएको छ । तथापि पहिलो निर्णयस्वरुप सभापति श्रेष्ठले गरेको निर्णय आफैमा कमजोर भयो भन्नेहरु पनि धेरै छन् । अधिवेशनमा सभापति श्रेष्ठलाई सघाउनेहरु पनि बुढाथोकीलाई चयन पूर्व छलफल हुनुपथ्र्यो भनेर बेखुशी व्यक्त गरिरहेका छन् ।
नगरपालिकामा बुढाथोकीलाई प्रतिनिधि पठाउनु राजनीतिक रुपमा राजु श्रेष्ठको दाउ आफ्नो पक्षमा देखिए पनि बुढाथोकी आफै त्यो भूमिकाका लागि योग्य हुन् वा होइनन् भन्ने विषयलाई नसोचिएको भनेर आलोचना भएको हो । नगरपालिकामा एमालेका दीपक निरौला र एमाओवादीका रविन अधिकारी समक्ष बुढाथोकीको उपस्थिति कमजोर र फिक्का हुने अनुमानसहित यो चासो व्यक्त भएको हो । बुनपा १९ बाट बुथ प्रतिनिधि बनेका बुढाथोकीले नगर अधिवेशनमा गणेश कोइरालालाई सर्वसम्मत बनाउन आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । सोही उम्मेदवारी फिर्ता लिएवापत अहिले नगर प्रतिनिधि बनाएको कुरा एक क्षेत्रीय सदस्यले कपन अनलाइनलाई बताए ।
हिजो ०७२ फागुन ९ गते नगर प्रतिनिधिको रुपमा राजाराम बुढाथोकीले नगरपालिकामा आफ्नो चिठि बुझाए पनि अपरान्ह ४ बजे नगरपालिकाका कार्यकारी प्रमुख विरेन्द्रदेव भारतीको विदाई कार्यक्रममा मन्चमा बुढाथोकीलाई बोलाइएन । नेकाको तर्फबाट पूर्व क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठलाई नेका नगर प्रतिनिधि भनेर बोलाइयो । न्हुच्छेनारायण श्रेष्ठले आफ्नो बोल्ने क्रममा अबदेखि नगपालिकामा नगरप्रतिनिधिको रुपमा नगर सभापति गणेश कोइराला उपस्थित हुने पनि जानकारी गराए । श्रेष्ठको यो अभिव्यक्तिले अब नगरपालिकामा नेका एकआपासमा भिड्न सक्ने देखिएको छ । यस समस्याको निवारण कोइराला वा बुढाथोकीले नगरी क्षेत्रीय सभापति राजु श्रेष्ठले कसरी गर्लान् यो हेर्न बाँकी रहेको नगरपालिकामा विरेन्द्रदेव भारतीको बिदाइमा सहभागि भएका एक स्थानीय नेका प्रतिनिधिले कपन अनलाइनलाई बताए ।