नेपाली कांग्रेस, गगन थापा र महामन्त्रि पद !!!

कपन अनलाइन/फाल्गुण ३, २०७२/दृष्टिकोण

IMG_0106

-केशव पाठक

नेपाली कांग्रेस यतिखेर महाधिवेशनको कुम्भमेलामा छ । कुम्भमेलामा मानिस नुहाइ धुवाई अनि दर्शन गरेर पनि फर्कन सक्छ भने कुम्भमेलामै हराउनेहरु पनि हुन्छन् । नेपाली कांग्रेसको यो कुम्भमेलारुपी महाधिवेशनमा को ज्यूँदो जाग्दो भएर अगाडि आउला अनि को हराउला भन्ने प्रश्न र जिज्ञासा चारैतिर छाएको छ । महाधिवेशनको यही कुम्भमेलामा नेपाली राजनीतिमा केही गर्न सक्ने भनेर आशा गरिएका पात्रहरुको प्रदर्शन नै महत्वको विषय हो । पछिल्ला केही वर्षमा विश्वव्यापीरुपमा बढेको सामाजिक संजालमा देखिने कमेन्टले नेपाली राजनीति र त्यससँग आबद्ध प्रमुख दलका नेताहरुको साख यति कमजोर भैसकेको छ कि उनीहरुले सही काम गरे पनि जनतालाई विश्वास लाग्ने छैन । साथै ठूला भनिने पार्टीहरुमा रहेको केही सम्भावनायूक्त एवम् रहरलाग्दा पात्रहरुलाई पार्टीमा सदैव नजरअन्दाज गरिनुले जनता नेपाली नेपाली राजनीतिलाई अत्यन्त घृणाको नजरले हेर्न थालेका छन् । नेपाली राजनीतिमा केही महत्वपूर्ण पात्रहरुलाई नेपाली जनताले भविष्यको एक महत्वपूर्ण नेताको रुपमा आंकलन भने गरेको देखिन्छ । यसरी महत्वका साथ आंकलन गरिएको पात्रहरुमध्ये अग्रणी नाम हो गगन कुमार थापा ।

gagan thapa
नेपाली राजनीतिमा गगन थापालाई भविष्यको धेरै जनताहरु प्रधानमन्त्रिको रुपमा देख्न चाहन्छन् । त्यसको एक खुट्किलो रुपमा नेपाली कांग्रेसको अहिले चलिरहेको अधिवेशनमा थापाको भूमिका र उनले प्राप्त गर्ने पद महत्वपूर्ण कडि हो । पछिल्ला केही वर्षमा थापाले नेपाली राजनीतिमा आफ्नो महत्वपूर्ण उपस्थिति देखाएका छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली कांग्रेस समर्थकमात्र नभई परपार्टीका मानिस पनि नेपाली राजनीतिमा अब केही गर्न सक्ने सम्भावित पात्रहरुमा थापालाई महत्वका साथ हेरेको देखिन्छ । गत केही वर्षदेखि गरिएका थुप्रै सार्वजनिक मत सर्वेक्षणमा थापाले अरु धेरै सम्भावित पात्रहरुमध्ये आफूलाई अगाडि बनाएको देखिन्छ । देशको सबैभन्दा पूरानो एवम् प्रजातान्त्रिक पार्टी मानिने नेपाली कांग्रेसबाट आफूलाई प्रतिनिधित्व गराउने गगन थापा नेपाल कांग्रेसभित्र भने आफैमा त्यति महत्व पाउँदैनन कि भन्ने जनचासो सदैब रहने गरेको छ । यिनै सबैले आशा गरेका गगन थापा यतिखेर नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रि पदमा उठ्ने घोषणाले युवाहरुबाट केही आशा गर्न सकिने भन्ने वर्गका लागि खुशीको रक्तसंचार भएको छ ।

नेपाली कांग्रेसका धेरै ठूला नेताहरुको भीडमा चौतर्फि सम्भावनाको पात्र भनिए पनि गगन थापा तथा केही उनीजस्तै अरु पात्रहरु आफूलाई नेपाली कांग्रेसभित्र दीर्घकालिनरुपमा प्रभावशाली प्रतीत गर्न ठूलो संघर्ष गरिरहेका देखिन्छन् । अझै भनौं थापाजस्ता हनोहार पात्रहरु अरु ठूला नेताहरुका गगन भाइ वा गगन बाबुको रुपमा मात्रै सिमित भएका छन् । अझै थप्नु पर्ने कुरा गगन थापाहरु आफ्नो पार्टीमा आफुलाई अगाडि बढाउन ठूला भनिने नेताहरुलाई जदौ गर्दैमा समय बिताउनु परेको छ । नेपाली राजनीतिमा केही आशाका किरणका रुपमा देखिएका गगन थापा वा उनी जस्ता केही गिने चुनिएका पात्रहरु यसरी पार्टीमा भाइ र बाबु मात्र खाएर बस्ने अनि जनताकोमा माझ चाहिँ सम्भावानको पात्र बनिरहँदा जनतालाई झनै नेपाली राजनीतिले चित्त दुखाइरहेको छ । त्यसैले पनि गगन थापाको यो महामन्त्रिको उम्मेदवारी नेपाली कांग्रेसको भविष्यको रुपमा लिन सकिन्छ ।

IMG_6667

०६२ ०६३ को आन्दोलनले सशक्त पात्रको रुपमा अगाढि बढाएको राजनीतिक पात्रको रुपमा भूमिगत रुपमा प्रचण्ड थिए पनि प्रत्यक्षरुपमा सडकबाट गगन थापा थिए । विलक्षण वाक्पटुकता तथा जनतालाई चित्त बुझाउन सक्ने अध्ययनशील युवा नेतारुपमा उदाएका गगन थापा आज प्रचण्ड वा अरु कतिपय अरु सिनियर नेताभन्दा आफूलाई जनताको विश्वासिलो नेताको रुपमा अगाडि बढाइरहेका छन् । प्रायः सबै नेताको उचाई दिनानुदिन कमजोर हुँदै गएको छ भने थापाको उचाई बढ्दो छ । यद्यपि आफ्नो पार्टीमा भने कतिपय उनी सम्भावनायूक्त नेता कम अरु सिनियर नेताको निद उडाउने व्यक्तिको रुपमा बढि देखिन्छन् । गगन थापाजस्ता व्यक्तिको उदय हुँदा नेपाली कांग्रेसका कार्यकर्ता लेबल अत्यन्त खुशी देखिए भने उपल्लो मानिने नेताहरु भने थापासँग भित्रभित्रै जलिरहेका देखिन्छन् । यो जल्ने उपक्रम कमि भएको छैन झन् बढ्दै छ । उनको क्षमताका अघि साना कद तथा चाकरी चाप्लुसीमै नेतृत्वमा पुगेको अधिकांशको आँखा थापालाई कमजोर बनाउनै व्यस्त रहने गरेको देखिन्छन् ।

नेपाली कांगेसको पाँचवर्ष अघि भएको महाधिवेशनमा अरु सबै केन्द्रिय सदस्यहरुभन्दा सबैभन्दा बढि मत ल्याएर केन्द्रिय सदस्य बनेका थापा केन्द्रिय सदस्य भएपश्चात भने पार्टीमा खासै भूमिकामा देखिन पाएनन् । यद्यपि दोस्रो संबिधानसभा निर्वाचनमा पार्टीका अधिकांश ठूला नेताहरुलाई जिताउन थापाले उनीहरुको क्षेत्रमा गएर भाषण गरेका थिए । उनले भाषण गरेका ७५ प्रतिशत क्षेत्रमा नेपाली कांग्रेसले बिजय पनि प्राप्त गरेको पनि देखिएको थियो । नेपाली कांग्रेसका अधिकांश नेताहरु प्नि गगन थापाको ज्वजल्यमान रुप तथा भविष्य देखेर सम्भावित ठूलो नेता भनेर बोलेको देखिए पनि अत्यन्त कममात्र हुने नेका केन्द्रिय कमिटिको मिटिंगमा गगन थापाहरुको भूमिका भने खासै प्रभावशाली बन्न दिइएको छैन । यसका थुप्रै कारणहरु हुन सक्लान तर महत्वपूर्ण कुराचाहिँ ठूला नेताहरुको अगाडि सम्भावनाको पात्र मात्र बनेर रहेका छन् गगन थापा । अथवा नेपाली कांग्रेसले थापालाई सम्भावनाको पात्रको रुपमा मात्र देखाउन चाहन्छ तर सजिलै भूमिका दिन चाहँदैन भन्ने कुरा पछिल्ला ५ वर्षमा उनले प्राप्त गर्न नसकेको जिम्मेवारी तथा केन्द्रिय समितिमा भन्दा बढि आवाज पत्रपत्रिकामार्फत उठाउनु पर्ेको थुप्रै दृष्टान्तले देखाउँछ । यद्यपि अहिलेको संसदमा उनी कृषि तथा जलश्रोत समितिका संयोजक भने छन् । संसदमा सभापति हुनुले पार्टीमा उनको भूमिका बढेको मान्नचाहिँ सकिन्न ।

flag-of-nepali-congrss-238x178
देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस आफ्नो महाधिवेशनको गरिरहेकोछ । गुटउपगुटको चरम समस्यामा गुज्रिरहेको नेपाली कांग्रेसको महाधिवेशन गुटगत राजनीतिकै कारण दुईपटक सारिएको थियो । फाल्गुण महिनाको तेस्रो हप्ता हुने केन्द्रिय महाधिवेशनसँगै नेपाली राजनीतिमा संभावना भएका व्यक्ति भने चिनइने गगन थापाले आफूलाई सिनियर नेताको अगाडि चुनौति पेश गर्न सकुन् भन्ने सबैतिरको माग हो । नेपाली कांग्रेसका कार्यकर्ता लेबल पनि गगन थापाजस्तो केही गर्लान कि भन्ने मानिस आफ्नो पार्टीको महामन्त्रिजस्तो पदमा आसिन भएको देख्न चाहन्छन् ।

गुटगत राजनीतिले थिलोथिलो भएको नेपाली कांग्रेसभित्र गगन थापा कुन गुटबाट आफूलाई प्रस्तुत गर्लान् त्यो पनि आज चासोको विषय बनेको छ । उनको अस्तित्व सुशिल कोइरालाको निधनपश्चात संस्थापन पक्ष वा शेरबहादुर देउवामध्ये कसले स्वीकार्लान भन्न सकिन्न । तर राजनीति उचाई प्राप्त गर्न गगन थापाले यी दुई गुटभित्र कति व्यालेन्समा आफूलाई राख्न सक्लान् भन्ने कुरा आजको महत्वको विषय हो । भनिन्छ, राजनीति ब्यालेन्सको खेल हो, महाधिवेशनमा महामन्त्रि पदका लागि गगन थापाले आफूलाई कति व्यालेन्समा राखेर वा कति सम्हालिएर यात्रा गर्लान् त्यो भने प्रतिक्षाको विषय नै बन्ला ।

तपाइँको प्रतिक्रिया ।