कमजोर देखिएकै हुन् त गगन थापा !?

कमजोर देखिएकै हुन् त गगन थापा !?

कपन अनलाइन/माघ २८, २०७२/ दृष्टिकोण

IMG_0106
– केशव पाठक
नेपाली राजनीतिमा थोरै आशा गरिएका व्यक्तिमध्ये एक नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापा हुन् । गजबको बोल्ने कला तथा तार्किक क्षमताका आधारमा नेपाली राजनीतिको शिखरमा पुगेका गगन कुमार थापा नेपाली कांग्रेसमा अझै पनि आशा छ भन्ने आशाको रक्तसंचार गर्न सक्ने एक हातमा गन्न सकिने व्यक्तिहरुमध्येका हुन् । उनी जहाँ पुग्छन् त्यहिँ आफ्ना तथा अरु पार्टीका व्यक्तिहरुको भीडले उनलाई छोपिहाल्छ । नेपाली रजतपटक धेरैभन्दा धेरै कलाकारहरुले थापाको जति भीड देख्न पाउँदैन । थापासँग फोटो खिच्नेहरुको ताँती देख्दा लाग्छ बलिउड वा हलिउडका कोही स्टार नेपाल आएका हुन् । उनले बोल्न थालेपछि दर्शक श्रोताहरुमा पिन ड्रप साइलेन्ट हुन्छ । सबै उनको बोलिको मोहमा लट्ठिन्छन् । संचार माध्यमलाई सदैव बिक्ने समाचार हुन् गगन थापा । थापाका बारेमा सकारात्मक अनि नकारात्मक दुवै समाचार राम्ररी बिक्छ । त्यसैसे संचारमाध्यमको कुनै न कुनै स्वरुपमा दैनिक थापा छापिएका हुन्छन् उनी । नेपाली राजनीतिमा यो खाले क्रेज यसअघि खासै देखिएको छैन । पछि के होला भन्न सकिन्न । एक युगमा एकपल्ट आउने पात्र हुन् गगन थापा । यद्यपि एक युगमा एकपटक आउने पात्र युगान्तकारी हुनुपर्छ भन्ने कुरामा दुईमत छैन । गगन थापाको त्यो युगान्तकारी रुप नेपाली जनताले हेर्न पाउन् भन्ने आशा हामी सबैले राख्न सक्छौं ।

केही समय यता यी हनोहार युवा पात्र केही अनावश्यकरुपमा विवादित हुन पुगे । कुमार घैंटे जिवित छँदा गगनका अघिपछि हिँडेको धेरैले देखे तर कसैले औँलो उठाएनन् । नेताका पास गुण्डा हुनुलाई सायद सबैले सामान्य माने होला । तर जब घैँटेको निधन भयो, घैंटे पात्रले गगन थापालाई प्रेतले झैँ सताएको छ । घैंटेको बारेमा थापाले खासै बोलेका पनि छैनन । गैर न्यायिक हत्याको बारे यो ऊ केही नभनी त्यसको बारेमा बोल्छु भन्ने उनको कुरा थियो । तर घैटे मरेको धेरै महिना भए पनि उनीलाई मृत घैँटेको प्रेतले छाडेको छैन । सामाजिक संजाल होस् वा अन्र्तक्रिया उनलाई घैँटेको पृष्ठपोषण गरेको आरोप लागिहाल्छ । थापाले स्वयम्ले यो आरोपबाट मूक्ति चाहेका पनि हुन् तर सोचेजस्तो वातावरण नबन्नाले पछिल्ला दिन उनको क्रेजलाई कमजोर बनाइरहेको छ ।

विश्व राजनीतिमा आँखा लाउने हो भने पनि एउटा सफल राजनेता कुनै न कुनै स्वरुपमा कन्ट्रोभर्सियल देखिएका छन् । गगन थापामाथि लागेको पछिल्ला समयका केही आरोप कतिपय अवस्थामा हकिकतभन्दा पनि सन्चारमाध्यमले बिकाउन प्रयोग गरिएको समाचारको हेडलाइन मात्र हो । भर्खरमात्र इन्टरनेट तथा सामाजिक संजालको सदुपयोग÷दुरुपयोग गर्न सिकेका हामीमाझ यो बिकाउ चिज बने पनि आफैमा यो दीर्घकालिन रुपमा गगन थापाको बिरोधी मत बनेर बस्न सक्दैन, यसमा दुईमत छैन । यसलाई थापाले स्वयम्ले काम वा कृयाकलापद्वारा प्रमाणित गर्नु पर्छ । बोल्ने बढि काम सुन्य भन्ने आरोप लगाएर विपक्ष उनको हुर्मत लिन खोजिरहेको अवस्थामा थापाले आफ्नो कृयाकलापलाई तर्कपूर्ण सुरक्षाभन्दा कर्मपूर्ण सुरक्षा गर्न आवश्यक छ । यो पक्षमा थापाको कमजोरी देखिएको छ ।

IMG_6667

स्वदेश तथा विदेशमा समेत चिनिने नाम भएकाले गगन थापाले बिताउने वा सोच्ने दायरा साँघुरो हुनु हुँदैन । थापाको सबैभन्दा कमजोर पक्ष भनेको उनको सल्लाहकार मण्डलि हो । पारिवारिक र साथी भाइको किचेन क्याबिनेट भनिने सानो झुण्डबाट उनी राजनीतिमा फड्को मार्न त्यति सजिलो नहोला । यतिखेर महाधिवेशनको अवसर छ । क्षेत्रीय अधिवेशनमा उनले त्यहि सानो झुण्डको मतिमा लागेर जुन भूल गरे, यो भूलको भर्पाई उनलाई मँहगो नै पर्ने देखिन्छ । देशले भविष्यको नेता सोचेको यति ठूलो कदको नेताले जसलाई क्षेत्रीय सभापतिमा उठायो त्यसले उनको क्रेज र उनको महत्वप्रति आफ्नै क्षेत्रका कृयाशिल सदस्य सशंकित देखिए । जो जो व्यक्तिबाट थापाले सल्लाह सुझाव लिन्छन् वा उनी कसैसँग सुझाव सल्लाह नै लिँदैनन् यी दुवै पक्षले उनलाई आफ्नो निर्वाचन क्षेत्रमा कमजोर बनाएको हो । नेपाली कांग्रेस पार्टीका भविष्य भनेर लिइएको व्यक्तिमात्र हैनन् गगन थापा, यहि महाधिवेशनमा संभावित महामन्त्रि पदका उम्मेदवार पनि भएकाले उनको क्षेत्रमा पार्टीभित्र उनकै आलोचक राजु श्रेष्ठ सभापति भएको विषय उनलाई यो महाधिवेशनभरी फलामको च्यूरा बन्ने निश्चित छ ।

२ वर्षअघि संबिधानसभाको चुनावमा ठूलो मत ल्याएर चुनाव जितेका थापाले फेरि किन भविष्यको नेता बन्ने खालको पात्र क्षेत्रीय सभापतिमा छनौट गर्न सकेनन् ? क्षेत्रीय सभापति यसम्यान हुनै पर्छ वा पछि कतै माथिल्लो पदमा पुग्न सक्ने खालको हुनु हुँदैन भन्ने ख्याल किन आयो गगन थापाको मनमा ? यो यतिखेरको महत्वपूर्ण प्रश्न मात्र हैन गगन थापाको भविष्यसँग जोडिएको महत्वपूर्ण पक्ष हो । गगन थापाले विकास निर्माण कामै गरेनन्, त्यो पनि पटक्कै हैन । उनले गरेको कामलाई जनसामान्यमा पुर्याउन सकेकनन् उनले । बिडम्बना नै हो, मिडियाबाजीमा धुरन्धर भनेर आरोप लाग्ने थापाले आफूले गरेको विकासका कामलाई राम्ररी प्रचार गर्न सकेनन् । त्यतिमात्र हैन उनकै कार्यकर्ता पनि गगन थापाले के के काम गरे भनेर भन्न सक्दैनन् । कार्यकर्तासम्म गगन थापा पुग्नै सकेनन् । उनले नै छनौट गरेर आफ्ना भनेर १२ औँ अधिवेशनमा ल्याएका क्षेत्रीय सभापति वा इकाईका सभापतिहरुले क्रियाशिल भेलासम्म गर्न सकेनन् ।

त्यसो त गगन थापा आफ्ना क्षेत्रका भ्याएसम्म कार्यकर्ताको बच्चाको न्वारनमा पनि पुगेका छन् । कहाँ जाने वा कहाँ नजाने भन्ने भेउ उनले पाएनन् । उनलाई सुझाव दिनेहरुले जे जे भने त्यो त्यो गरे । यद्यपि धेरैभन्दा धेरै चिनिएका कार्यकर्तालाई उनले फोन गरेर सम्झिएको देखिएन । उनको फोन नउठ्ने समस्या आफ्नो ठाउँमा छँदैछ, उनले फोन गरेर सम्झिएको घटना अधिकांश क्षेत्र तथा इकाईस्तरीय नेताले बताउन सक्दैनन् । एकातिर सामाजिक संजाल वा अनलाइन मिडियाको नाममा उनको बदनाम गर्न तत्पर विपक्षी छन् अर्काेतिर आफ्ना भन्नेहरुलाई सम्झनु पर्छ वा बुझाउन पर्छ भन्ने ख्याल स्वयम् गगन थापालाई नहुनुले उनलाई कमजोर बनाइरहेको छ । १२ औँ महाधिवेशनमा उनले यसम्यानको रुपमा जिताएर ल्याएका हालका सभापति, उपसभापति, कोषाध्यक्षलगायत कतिपय व्यक्तिको नतिजाले उनले हाल क्षेत्रमा गरिरहेको राजनीतिक स्वरुपलाई परिवर्तन गर्न आवश्यक देखिन्छ । धेरैले उनलाई आफ्नो र अर्काे को हो भन्ने पत्तो लगाउन नसक्ने मानिसको रुपमा पनि व्याख्या गरिएको देखिन्छ । यो व्याख्या थापा वरिपरि झुम्मिएर यताको कुरा उता लगाउने पात्रहरुको चंगुलमा फसेका उनको मनोभावमा देख्न पनि पाइन्छ । आफ्नै क्षेत्रमा आफ्नो कट्टर आलोचकले क्षेत्रीय सभापति जितेका अवस्थामा गगन थापाले अबको क्षेत्रको राजनीतिलाई कति सुझबुझपूर्ण तरिकाले अगाडि बढाउलान् भन्ने विषय अबको चासोको विषय हो ।

तपाइँको प्रतिक्रिया ।