पूर्व–पश्चिम राजमार्गमा पहिलेझैँ गाडी चल्न थाले

महेन्द्रनगर (धनुषा), ३० पुस । मधेस आन्दोलन सुरु भएपछि निकै आक्रान्त बनेको पूर्व पश्चिम राजमार्ग बिस्तारै सामान्य बन्न थालेको छ ।

आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताको राजमार्गमा उपस्थिति र प्रदर्शन पातलिँदै गएपछि पूर्वपश्चिम राजमार्ग पहिलेकै अवस्थामा फर्किन थालेको हो । केही हप्तादेखि राजमार्गको अवस्था सामान्य भएपछि प्रहरीले रातको समयमा समेत गाडीको अगुवाइ गर्नु परेको छैन ।

यात्रुले पनि पूर्वपश्चिम राजमार्गको यात्रामा अब आन्दोलनकारीबाट आक्रमण र तोडफोडका घटना हुन छाडेपछि सुरक्षित भएको महसुस गर्न थालेका छन् । हिजोआज तराई मधेसका राजमार्गमा बिनारोकतोक सयौँ मालवाहक र यात्रुवाहक गाडी चौबिसै घन्टा गुडिरहेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सागरविक्रम राणाले अब पूर्वपश्चिम राजमार्गमा सवारी आवागमनमा कुनै समस्या नरहेको बताउनुभयो । डिजेलको अभावले पहिलेको तुलनामा केही कम गाडी चले पनि राजमार्गको अवस्था सामान्य अवस्थामा फर्किसकेको निरीक्षक राणाले जानकारी दिनुभयो । यसरी यातायातका साधन राजमार्गमा चल्न थालेपछि जनकपुरदेखि ढल्केवर र जलेश्वर–भिट्ठामोड सडकखण्डमा पनि सार्वजनिक यातायात सञ्चालनको तयारी भइरहेको यातायात व्यवसायीहरु बताउँछन् ।

महेन्द्रनगर धनुषाका यायायात व्यवसायी मन्दिप झाले भन्नुभयो–“यो बन्दले सबैभन्दा ठूलो मारमा हामी यातायात व्यवसायी परेको र बैंकको किस्ता बुझाउन र यातायात मजदुरको समेत घरपरिवार पाल्न धौ धौ भएकाले अब आउने हप्तादेखि लोकल रुटमा समेत गाडी संचालनको तयारी गरिरहेका छौँं ।” रासस

तपाइँको प्रतिक्रिया ।