नेपालको संविधान विश्वकै उत्कृष्ट ः विज्ञ

नेपालको संविधान विश्वकै उत्कृष्ट ः विज्ञ

लुम्बिनी (रुपन्देही), २४ पुस । संविधानसभामा प्रतिनिधित्व गर्ने ९२ प्रतिशत सभासद्को मतका आधारमा जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको एक कार्यक्रमका विज्ञहरुले दाबी गरेका छन् ।

‘सङ्घीय संरचनाका तुलानात्मक अनुभव अन्तरसरकारी सम्बन्ध र समन्वय’ विषयक बिहीबार यहाँ आयोजित बृहत् अन्तरक्रियामा क्यानडा, अस्टे«लिया, भारत र नेपालका संविधानका विज्ञहरुले नयाँ संविधानमा सङ्घीयता विश्वकै उत्कृष्ट भएको दाबी गरेका छन् ।

कार्यक्रममा क्यानेडियन माथिल्लो सदनका संविधानका सल्लाहकार तथा क्विन्स युनिभर्सिटीका सहायक प्रोफेसर रचेल लाफरेस्टले क्यानडामा सङ्घीयता सफल हुनुमा शिक्षा र चेतना मुख्य भएको जानकारी दिनुभयो ।
संविधानविद् लाफरेस्टले क्यानडामा सङ्घीयता सफल भए पनि स्थानीय सरकारको भूमिकालाई कम आङ्कलन गरिएको तर्क गर्दै नेपालको संविधानमा स्थानीय सरकारलाई विशेष महत्वका साथ स्थान दिएकाले विश्वकै उत्कृष्ट भएको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा अस्टे«लियन संविधानविद् प्राध्यापक रबर्ट रायनले नेपालको संविधानले विकेन्द्रीकरणलाई उच्च प्राथमिकता राखेको बताउँदै राजनीतिक स्वायत्ततासहितको नेपालको सङ्घीय शासन प्रणाली उत्कृष्ट भएको जनाउनुभयो । युटिएस सेन्टर फर लोकल गभरमेन्ट, अस्टे«लियाका डाइरेक्टरसमेत रहेका रायनले अस्टे«लियन संविधानभन्दा नेपालको संविधानमा व्यवस्था गरिएको सङ्घीयता अब्बल भएको दाबी गर्नुभयो ।

भारतीय संविधानका ज्ञाता डा आशनारायण रायले नेपालको संविधान र सङ्घीयता संसारकै अब्बल भएको तर्क गर्दै सबै मिलेर संविधानमा अपनत्व महसुस गर्नेगरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।
नेपालका संविधानविद् दिनेश त्रिपाठीले नेपालको संविधान विश्वकै अब्बल भएको दाबी गर्दै सङ्घीयता सफल नभए मुलुक असफल हुने हँुदा सबै मिलेर जारी संविधानलाई समर्थन गर्दै सफल पार्नुपर्ने बताउनुभयो ।

काठमाडौँ, चितवन, विराटनगर, नेपालगन्ज, रुपन्देहीका सङ्घसंस्थाका प्रमुख, नागरिक समाजका अगुवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले सो अन्तरक्रियामा भाग लिएका थिए । रासस

तपाइँको प्रतिक्रिया ।