समय नदिई सरकारको आलोचना गर्नुहुँदैन ः नेता शशाङ्क

समय नदिई सरकारको आलोचना गर्नुहुँदैन ः नेता शशाङ्क

चितवन, १५ पुस । नेपाली काँग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीको आउँदो महाधिवेशनमा पार्टीका तीनै नेतालाई एकै ठाउँमा उभ्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिले पनि पार्टी दुईवटा जस्तो देखिएको भन्दै तीन नेता मिलेर नयाँ नेतृत्व छान्न आग्रह गर्नुभयो ।

पार्टीको १३औँ महाधिवशनले नयाँ अध्यायको सुरुवात गर्ने भन्दै उहाँले नयाँ विचार दिनसक्ने नेतृत्व काँगे्रसजनले खोजेको बताउनुभयो । कोइराला परिवारबाट नेतृत्व बाहिर जान नखोजेको हो ? भन्ने प्रश्नमा नेता कोइरालाले आफूलाई हस्तान्तरण नचाहिएको बताउँदै जुन दिन कार्यकर्ता र जनताले विश्वास गर्छन् त्यस दिन आफूले पार्टीको नेतृत्व लिने बताउनुभयो ।

नेताको उमेरका विषयमा उठिरहेको सवालमा नेता कोइरालाले राजनीतिमा उमेरको हदबन्दी राख्न नहुने बताउनुभयो । क्रियाशील सदस्यता विवादलाई तत्काल समाधान गर्नुपर्ने भन्दै सङ्ख्या बढाएर नभई गुणात्मक रुपमा वृद्धि गर्नेतर्फ पार्टी लाग्नुपर्ने बताउनुभयो । आफ्नो उम्मेदवारीको विषयमा कार्यकर्ताको राय बुझेर मात्र तय गर्ने उहाँले बताउनुभयो ।

राजनीतिक स्थिरता अहिलेको आवश्यकता रहेको भन्दै उहाँले सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभयो । नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई सबैलाई मिलाएर अहिलेको समस्या हल गर्दै जान सुझाव पनि दिनुभयो । उहाँले भन्नुभयो – “अस्थिरताका कारण मुलुक पछाडि परेको छ, समय नै नदिई सरकारको आलोचना गर्नुहुँदैन ।”

तपाइँको प्रतिक्रिया ।