काठमाडौँ उपत्यकामा आज वर्षकै बढी चिसो

काठमाडौँ उपत्यकामा आज वर्षकै बढी चिसो

काठमाडौँ, ८ पुस । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी जाडो महसुस भएको छ ।

उपत्यकामा आज न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाडो मौसम सुरु भएसँगै उपत्यकासहित देशभर क्रमशः चिसो बढ्दै गएको छ । अघिल्लो मङ्सिर २९ तथा पुस १ र २ गते पनि अत्यधिक चिसो (न्यूनतम तापक्रम २ डिग्रीसम्म) पुगेको थियो ।

मौसमविद् शान्ति कँडेलका अनुसार अघिल्लोे बर्ष सन् २०१४ को यही समयमा सबैभन्दा कम न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष २०१५ मा भने आज सबैभन्दा कम तापक्रम ०.९ मा झरेको हो ।

सामान्यतयाः जाडो मौसममा डिसेम्बरको अन्तिम साता र जनवरीको पहिलो सातामा बढी जाडो हुने गर्दछ । मौसमविद् कँडेलले अबको १५ देखि २० दिनसम्म चिसो बढ्ने र त्यसपछि मौसम सामान्य हुँदै जाने बताउनुभयो ।

मौसम सफा भए पनि निरन्तर जाडो बढ्नुको कुनै कारण नभई यो नियमित प्रक्रिया भएको उहाँले उल्लेख गर्नुभयो ।

चिसो बढेसँगै विभिन्न रोगको जोखिम बढ्ने भएकाले पूर्व सावधानी अपनाउन सर्वसाधारणलाई मौसमविद्को सुझाव छ । बिहानीपख र बेलुका विशेष ध्यान पु¥याउन आग्रह गर्दै मौसमविद् कँडेलले चिसोका कारण रुघाखोकी, निमोनिया, दम, हृदयाघात, उच्च रक्तचापलगायत समस्या आउने उल्लेख गर्नुभयो ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहेको पनि महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।