आईएसका ११ लडाकू मारिए

बग्दाद, २४ मङ्सिर । इराकको सधैँजसो नै द्वन्द्व भइरहने एक प्रान्त अन्बरमा इस्लामिक अतिवादी समूह, आईएसविरुद्धको कारबाहीका क्रममा बिहीबार आईएसका कम्तीमा पनि ११ जना लडाकू मारिएको समाचार छ ।

उक्त प्रान्तमा यसअघि पनि आईएसमाथि इराकी सुरक्षाकर्मीहरुले स्थलगत र हवाई कारबाही गर्ने गरेको भए पनि गत महिना फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलापछि सो क्षेत्रमा पछिल्लो समयमा कारबाही थप सशक्त पारिएको पनि बताइएको छ ।
आईएसको खोजीका क्रममा इराकी सुरक्षाकर्मीहरुले बुधबार रातिबाट सो कारबाही गरेको समाचारमा जनाइएको छ ।

बिहीबार प्राप्त समाचारमा इराकको पश्चिमी प्रान्त अन्बरको प्रान्तीय राजधानी सहर रमादीमा सो हमला भएको थियो । सो नगरमा विगतदेखि नै आईएसका लडाकूहरु लुकेर बस्ने गरेका छन् ।
स्थलगत कारबाहीका क्रममा आईएसका लडाकूसँग कैयौँ स्थानमा भिडन्त पनि भएको सो समाचारमा जनाइएको छ ।

रमादी नजिकैको अलक्वाम नगरमा आईएसका लडाकूहरु लुकेर बस्ने गरेको भन्दै यसअघि पनि सेनाले कारबाही गरेको थियो । सो नगरमा इरानी सेनाले हवाई कारबाहीका क्रममा बमबारी गरेको थियो ।

त्यसैगरी रमादीबाट पश्चिमतर्फको अल्बुरिसा पुलमा सो हमला भएको थियो । उक्त हमलामा पनि केही लडाकू मारिएका बताइएको छ ।

सो बमबारीमा परी कम्तीमा पनि ११ जना लडाकू मारिएका थिए । सो क्रममा उनीहरुका छ वटा सवारी साधन पनि ध्वस्त भएका बताइएको छ । त्यसैगरी अन्बरकै अरु केही क्षेत्रमा पनि कारबाही जारी रहेको छ । इराकी सेनाले पछिल्लो समयमा आईएसका विरुद्धमा स्थलगत रुपमा पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ । रासस÷एएफपी

तपाइँको प्रतिक्रिया ।