सीमा नाकाको अवरोध हटाउन आग्रह : रामचन्द्र पौडेल
बलेवा (बागलुङ), २२ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत मधेसकेन्द्रित दललाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधन खोज्न आग्रह गर्नुएको छ ।
नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सीमित स्वार्थका लागि राष्ट्रलाई सकस नदिन ती दललाई आग्रह गर्नुभयो । पौडेलले दशगजामा बसेर आन्दोलन गर्दैमा समस्या समाधान नहुने तर्क गर्दै भन्नुभयो, “सीमा नाकाको अवरोध हटाएर संविधान संशोधनको बाटामा आएमा मात्रै देशले मुक्ति पाउने छ । ”
बेनी – काँग्रेस म्याग्दीले आजदेखि सुरु गरेको ‘जनताको आँगनमा काँग्रेस’ अभियानको शुभारम्भ गर्दै नेता पौडेलले नेपाल आन्तरिक समस्याको समाधान गर्न सक्षम भएको र बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो ।
उपसभापति पौडेलले सार्वभौमसम्पन्न नेपाली जनताले बनाएको संविधान अरुलाई चित्त नबुझ्दैमा खराब हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा सांसद शारदा पौडेल, प्रकाश पौडेल र रेशमबहादुर बानियाँ, पूर्वकेन्द्रीय सदस्य सुप्रभा शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो ।