भूकम्प र नाकाबन्दीका कारण सिन्धुपाल्चोकवासीको जीवन कष्टकर
मेलम्ची, १३ मङ्सिर । भूकम्पबाट अत्यधिक क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकवासी अहिले नाकाबन्दीको थप कष्ट भोग्न बाध्य छन् ।
पेट्रोलियम पदार्थको अभावका कारण सामान ढुवानी हुन नसक्दा बजारमा खाने तेल, नुनदेखि दैनिक उपभोग्य सामानको चर्को अभाव भएको छ । दिनभर ज्याला गरेर खानेलाई अहिले कसरी गुजार गर्ने हो भन्ने चिन्ताले सताएको छ ।
पेट्रोल, डिजेल र ग्यासको अभाव हुँदा यहाँका उद्योगधन्दा, होटल, जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् । ग्यासको अभावमा यहाँका होटल व्यवसायीहरु दाउरा बाल्न बाध्य छन् ।
खोटाङ घर भई सिन्धुपाल्चोकको मेलम्चीमा व्यवसाय गर्दै आउनुभएका चित्रकुमार श्रेष्ठ भन्नुहुन्छ – “मेलम्चीबाट खोटाङ सिधै जाने गाडी छैन, बाइकमा जान पेट्रोल छैन ।” पेट्रोल पम्पमा समेत पहुँचवालाले सजिलै तेल पाउने गरेको र साधारण नागरिक अबेरसम्म कुर्दा पनि रित्तो हात फर्कनुपरेको उहाँको गुनासो छ ।
त्यसैगरी मेलम्ची नगरपालिका–१२ बस्ने हेमराज खतिवडा भन्नुहुन्छ – “भूकम्पले पूर्णरुपमा घरगोठ ध्वस्त भयो । अहिले देशमा भइरहेको नाकाबन्दीले थप कष्ट भएको छ ।” उहाँले भन्नुभयो – “पकाउनका लागि त दाउरा छ तर पकाउने खाद्यवस्तु नै नहुँदा के पकाउने भन्ने चिन्ता छ । नाकाबन्दीले अहिले बजारमा खाद्यान्न पाउनै कठिन छ । पाए पनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ ।”
पर्याप्त मात्रामा तेल नपाउँदा सदरमुकामका सडकमा समेत सवारी साधन चल्न सकेका छैनन् । केही साना सवारी चले पनि ठूला र लामो दूरीका सवारी साधन चलाउन समस्या भएको व्यवसायीले बताएका छन् ।
नाकाबन्दी हुनु पहिला काठमाडौँदेखि मेलम्चीसम्म दिनहुँ जसो १६ वटा बस सेवा सञ्चालन गर्दै आउनुभएका हेलम्बु यातायात सेवा समितिका वरिष्ठ सुपरभाइजर ज्यानबहादुर तामाङ भन्नुहुन्छ – “अहिले पेट्रोलियम पदार्थको अभावका कारण सवारी साधन कम चलेका छन् ।”
इन्धन अभावका कारण जिल्लाको बाह्रबिसे बजारलगायतका आसपासमा पनि खाद्यवस्तुलगायतका दैनिक उपभोग्य सामग्रीको अभाव छ । अभावसँगै बजारमा हुने कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गर्ने गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो ।