पहाड बेचेर सहर किन किन्छौँ ? नबिन कुमार रोकाया

पहाड बेचेर सहर किन किन्छौँ ? नबिन कुमार रोकाया

कपन अनलाइन

काठमाडौं असार २७ ।

हिमाल र पहाडका गाउँहरू आज एउटा अनौठो मौनताबाट घेरिएका छन् । हिजोसम्म बालबालिकाको हाँसोले गुञ्जिने आँगनहरू सुनसान बन्दै गएका छन् । खेतबारीमा हरियालीभन्दा झारपात बढ्न थालेको छ । घरका ढोकामा ताल्चा छन् । अनि बाटाघाटामा भेटिने अनुहारहरू दिनप्रतिदिन पातलिँदै गएका छन् । अर्कोतिर तराई र सहरका नयाँ बस्तीहरू दिनहुँ फैलिरहेका छन् । महँगो मूल्यमा जग्गा किन्ने होड छ । घर बनाउने प्रतिस्पर्धा छ । अनि त्यही भीडमा आफ्नो भविष्य सुरक्षित भएको भ्रम पनि छ । आखिर किन ?
हिमाली भूगोल कठिन अवश्य छ । तर त्यो अभिशाप होइन । त्यहाँको स्वच्छ हावा, निर्मल पानी, शान्त वातावरण, बलियो सामाजिक सम्बन्ध, प्राकृतिक सम्पदा र आत्मीय जीवनशैली संसारका धेरै विकसित देशले खोजिरहेको सम्पत्ति हो । तर हामी आफूसँग भएको यही सम्पदालाई सामान्य ठान्छौँ र नभएको सुविधाको पछि लाग्दै आफ्नो सबैभन्दा ठूलो धन आफैँ त्याग्न तयार हुन्छौँ । के हामीले आफ्नै सम्पत्तिको मूल्य अरूले बताएपछि मात्र बुझ्ने हो ?
बसाइँसराइका कारणहरू वास्तविक पनि छन् । गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रोजगारी, यातायात र अन्य आधारभूत सुविधाको खोजीमा मानिस सहरतिर जान्छन् । यी आवश्यकताहरूलाई कसैले अस्वीकार गर्न सक्दैन । तर प्रश्न यति मात्र हो हामी सुविधा खोज्न गएका हौँ कि आफ्नो जीवनको सहजता नै बेच्न गएका हौँ ?
गाउँमा बिहान चरा कराउँछन्, सहरमा गाडीका हर्न । गाउँमा खोलाको पानी निःशुल्क बग्छ, सहरमा पानीको पालो कुर्नुपर्छ । बोतलका बोतल जारका जार किन्नुपर्छ । गाउँमा आकाश खुला हुन्छ, सहरमा धुवाँले ढाकिएको हुन्छ । गाउँमा छिमेकी परिवारजस्तै हुन्छन्, सहरमा वर्षौँ एउटै घरमा बस्दा पनि एकअर्काको नाम थाहा नहुन सक्छ । आखिर विकास भनेको केवल अग्ला भवनहरू हुन् कि शान्त निद्रा पनि हो ?
सहरले अवसर दिन्छ तर त्यसको मूल्य पनि असाध्यै महँगो हुन्छ । महँगो जग्गा, महँगो घर, महँगो शिक्षा, महँगो उपचार, महँगो दैनिक जीवन । त्यसपछि ऋणको भारी, किस्ताको तनाव, समयको अभाव र मानसिक थकान । धेरै मानिस सहरमा सुविधाभन्दा बढी तनाव बोकेर बाँचिरहेका छन् । बाहिरबाट जीवन चम्किलो देखिए पनि भित्रभित्रै अनेक संघर्षले गाँजिएको हुन्छ । के यही जीवनलाई हामी सफलताको परिभाषा मानिरहेका छौँ ?
वातावरणको दृष्टिले पनि सहरहरू दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएका छन् । बढ्दो प्रदूषण, घट्दो हरियाली, अत्यधिक तापक्रम, फोहोर व्यवस्थापनको समस्या, ट्राफिक जाम र भीडभाडले जीवनलाई सहज होइन झन् जटिल बनाइरहेको छ । उता हिमाली गाउँहरूमा अझै पनि प्रकृतिसँग सन्तुलित जीवन सम्भव छ । हामी स्वच्छ हावा छोडेर प्रदूषित हावा किन खान तयार छौँ ?
सामाजिक सम्बन्धको हिसाबले पनि गाउँको मूल्य अनुपम छ । दुःखमा सँगै उभिने छिमेकी, संस्कार र संस्कृतिले बाँधिएको समाज, परम्परा र आत्मीयता । यी सबै कुनै पैसाले किन्न सकिँदैन । सहरमा भने मानिसहरू घर नजिक भए पनि मनले धेरै टाढा हुन थालेका हुन्छन् । मानिसहरूको संख्या बढेको छ तर सम्बन्धहरू घटेका छन् । के एक्लोपन पनि आधुनिकताको मूल्य हो ?
यसको अर्थ सहर नराम्रो र गाउँ मात्र राम्रो भन्ने होइन । सहरको आवश्यकता छ, विकासको आवश्यकता छ, आधुनिक शिक्षाको आवश्यकता छ । तर विकासको नाममा आफ्नै जरा उखेलेर अर्को ठाउँमा रोपिनु नै एकमात्र विकल्प होइन । यदि राज्यले हिमाली क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, सञ्चार र उद्योगको विस्तार गरिदिने हो भने कति मानिस आफ्नो जन्मभूमि छोड्न चाहन्थे ?
सबैभन्दा ठूलो विडम्बना त के छ भने गाउँको जग्गा सस्तोमा बेचेर सहरको जग्गा महँगोमा किन्ने क्रम बढिरहेको छ । हामी उत्पादन गर्ने भूमि बेचिरहेका छौँ र उपभोग गर्ने भूमि किनिरहेका छौँ । खेत बेचेर घडेरी किनिरहेका छौँ । अन्न फल्ने माटो त्यागेर सिमेन्टको जंगल रोजिरहेका छौँ । यो केवल बसाइँसराइ होइन जीवनदृष्टिको परिवर्तन पनि हो ।
आज समयले एउटा गम्भीर प्रश्न सोधिरहेको छ । हामी सुविधा खोज्दैछौँ कि आफ्नै अस्तित्वबाट टाढिँदैछौँ ? यदि गाउँलाई अवसरसँग जोड्न सकियो भने बसाइँसराइ बाध्यता होइन रोजाइ बन्नेछ । अनि सायद त्यो दिन आउनेछ । जब हिमालका युवाले आफ्नो जन्मभूमि छोड्ने होइन त्यहीँ बसेर भविष्य निर्माण गर्ने सपना देख्नेछन् ।
देशको समृद्धि तब मात्र सम्भव हुन्छ । जब सहर मात्र होइन । गाउँ पनि बाँचिरहन्छ । किनकि गाउँ खाली हुनु भनेको केवल घर खाली हुनु होइन । त्यो संस्कृति, उत्पादन, प्रकृति र भविष्य नै रित्तिनु हो । त्यसैले अब प्रश्न बसाइँसराइको मात्र होइन, आफ्नै माटोको मूल्य चिन्ने चेतनाको पनि हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।