क्रमभंग भएपछि : राजन प्रसाद न्यौपाने (कविता)
जलेर मुटु पीडा र ब्यथाले
भत्केर सपनाका पर्खाल
वचन र व्यबहारले
पोल्छ छाती भतभती
हृदयमा दन्केको आगोले
लाग्छ, त्यसैगरी पागल बनूँ म पनि
पोखू भूईभरी इज्जत र प्रतिष्ठा
सबै बताइदिउँ
कालारात र अन्धकार दिनका दस्तावेजहरू
थोपरिदिउँ मन नपरेपछि
मन पर्दा राम्रा र असल लागेका
सबै गुण अबगुणहरू
देखाइदिउँ सचित्र
च्यातेर छाती
माया कहाँ कति ?
बिडम्बना !
सधैं मन्दिर भनेर आस्थाले जोगाएको झोपडी
देवता भनेर पूजेको त्यो नबोल्ने ढुङाको मुर्तिलाई
कसरी भन्न सक्छु म,
त्यो मन्दिर थिएन
त्यो मुर्तिमा भगवानको भाव थिएन
मेरो भ्रमको संसार थियो भनेर
कि मैले अस्मिता गुमाएको भन्नू प¥यो
कि मेरो मानसिकता ढल्यो भन्नू प¥यो
सक्दिन म दुबै कुरा भन्न
म गलेको छैन मानसिक रुपमा
गुमाएको छैन मैले मेरो अस्मिता
फेरि मैले त हृदय ओछ्याएर गरेको
हो नि त माया
कसरी सकिन्छ ,हृदयमा बसेको
ढुकढुकीलाई
आरोप प्रत्यारोप गर्न
राजनीति हो र जीवन ?
कुकुरले भुक्यो भनेर भुक्न
सङै भुक्ने भए ! के फरक भयो र
मान्छे र कुकुरमा ?
जीवन यात्रा हो
सम्बन्धमा पो पूर्णबिराम
सकिएला लगाउन
मानवियता र आत्मियता त
युगौं कहाँ मर्छ र ?
लाज पो जागेर आउँछ मलाई
जिस्काउन
एउटै बर्को ,एउटै सर्को
सिरक र जाडोको कथा सम्झिएर
उम्लिन्छ रगत ,त्यो नर्क जस्तो
गोदामबाट
निस्केका बेइज्जतीला र नाटकीय
उत्कण्ठाका उद्वेगहरू बुझेर
मान्छेमा किन मान्छेका गुण
नआएका भनेर
हुन त आँखामा कालो चस्मा लगाएपछि
हरियो घाँस पनि कालै देखिन्छ
आफ्नो आदत बानी र चरित्र जस्तो छ
उस्तै अर्को माथि संकेत देखिन्छ
सबै कुरा अनुभव नै त हो नि
जिन्दगी
आफूले जसरी बिताएको छ
अरुलाई पनि त्य्स्तै बनाउन खोजिन्छ
आवरणमा आन्तरिक हो देखिने
कुकुर पनि भुकेपछि थाहा हुन्छ
जात कुनभनी
जलेको छ जिन्दगी
घाटको कथा लेख्न नसकेर
बलेको छ हृदय
इतिहासको फाइल पल्टाउन नसकेर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
