रिसब र त्रिसालाई स्वर्ण
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २६।
लनर्स एकेडेमीका रिसब जकिबन्जर र बाल दीक्षा सदनकी त्रिसा महर्जनले यु–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको ब्वाइजमा रिसब र गल्र्समा त्रिसा पहिलो भएका हुन् ।
ब्वाइजमा नेपाल पुलिस स्कुलका असल जोशी र ख्वपरिङ इङलिस एकेडेमीका ब्रयान लवाजु दोश्रो तथा प्रभातका लिजा अवाल तेश्रो भए । गल्र्समा काष्ठमण्डपकी पुण्य श्रेष्ठ दोश्रो तथा लिटिल एन्जल्सकी आराध्या महत र रोज बडकी हर्षली रन्जित तेश्रो भए ।
नेपाल जिम्न्याष्टिक संघ र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को संयुक्त आयोजित प्रतियोगिताको मिक्स टिममा एभरेष्ट इङलिस स्कुल पहिलो, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय दोश्रो तथा एसओएस, सानोथिमि तेश्रो भए ।
विजेतालाई नेपाल जिमन्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान, पूर्व सांसद् माधव सापकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको दुईदिने प्रतियोगितामा विभागीय टोलीका विद्यालयसहित विभिन्न ६२ विद्यालयका १ सय ९६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
