भोक :श्यामप्रसाद श्रेष्ठ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २३।
“हजुर ! एउटा पागलले साह्रै हैरान बनायो,” द्वारपालले शिर झुकाउँदै निवेदन ग¥यो, “दरबारको मूलद्वारमै आएर बसेको छ । हट्न भन्यो, मान्दै मान्दैन ।”
–“को हो त्यो ?” प्रमुखले चासोपूर्वक सोध्यो ।
–“लवाई खवाई हेर्दा सम्पन्न मानिस जस्तो देखिन्छ । तर बोलि व्यवहार भने मानसिक सन्तुलन नै गुमाएको जस्तो देखिन्छ ।”
–“कहिलेदेखि बसेको छ ?”
–“हजुरले दरवार सम्हाले कै रातदेखि ।”
–“के गर्छ ?”
–“दिनभरि दरबारतिर टुलुटुलु हेर्छ । कहिले अचानक कराउँछ, ‘चाहियो… चाहियो…!”
केहीबेर सोचमग्न हुँदै प्रमुखले आदेश दिए, “जाउ ! उसलाई मेरो सामुन्ने उपस्थित गराउ !”
–“ जो हुकुम !”
केही बेरपछि द्वारपालले उसलाई कोठाभित्र उपस्थित गराए ।
प्रमुखले उसलाई हेर्दै भन्यो, “सुनेको छु, तिमी सधैँ ‘चाहियो’ भनेर कराउँछौ रे! के तिमी भोको छौ ?”
पागल जस्तो देखिने ब्यक्तिले टाउको उठाउँदै खुशि हुँदै भन्यो,–“ हो..म अत्यन्तै भोको छु ।”
–“आफ्नो परिचय दिएर भन ! के को भोक लागेको छ ?”
उसले दरबार भित्र रहेको अग्लो आसन टोलाएर हेर्दै भन्यो, “म पूर्व शासक हुँ, सत्ताच्युत भएको धेरै दिन भयो, सत्ताको भोक जागेको छ।मलाई सत्ता चाहियो..चाहियो !”
सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक
