चार मुक्तक : मीरा न्यौपाने गजुरेल
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २३।
हुन्न नचलाऊ भन्दा भन्दै पनि चलाएर गयो
जतन राखेको सम्बन्धमा दुष्मनी बनाएर गयो
दिलमा बस्छु भन्नेले दुख मनको गन्छु भन्नेले,
यो मन मुटुमा आगो दनदनी लगाएर गयो ।
साँचो सत्य बोल्नेहरूकै हात मुख बन्द गर्न खोज्छन्
बाटो छेक्न तगारो हाल्न तिनका अघि पर्न खोज्छन्
अराजकतामा बस्नेहरू दुनियाको नजरबाट खस्नेहरू,
स्वाभिमान बेचेर नैतिकवान बनेर अघि सर्न खोज्छन् ।
पसिना बेचेर कमाएको पैसाले कसरी रमाउन सक्छन्
कसरी ती खुशी भेट्न सक्छन् कसरी समाउन सक्छन्
चर्को गर्मीको याममा त्यो परदेशको अपरिचित ठाममा,
जीवनमा सुख आर्जन गर्न र कसरी ऐश कमाउन सक्छन् ।
आफ्नै भन्छन् तर अरुको प्रगतीमा मन अडाउन सक्दैनन्
मतलवीहरू अरुको खुशीमा रमाउन मन लगाउन सक्दैनन्
न्यानोपनको अंगालोमा बेरी बेरी अवसरमा दाउ हेरी हेरी,
यथार्थ मिठो र सत्य बोलेका भनेका कुरा पचाउन सक्दैनन् ।
सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक
