अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस २०२६ मा राष्ट्रिय सङ्ग्रहालयद्वारा विशेष कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ४।
अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस २०२६ को अवसरमा राष्ट्रिय सङ्ग्रहालयले विशेष कार्यक्रम आयोजना गर्दै ऐतिहासिक तथा पुरातात्त्विक महत्वका मूर्तिहरूको प्रदर्शनी कक्ष उद्घाटन, मूर्तिहरूको औपचारिक हस्तान्तरण तथा “कला सम्पदा भाग–७” पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयको प्रमुख आतिथ्यमा राष्ट्रिय सङ्ग्रहालय परिसरमा सम्पन्न भएको हो । कार्यक्रममा पुरातत्त्व विभागका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, प्राविधिक व्यक्तित्व, सञ्चारकर्मी तथा सङ्ग्रहालयकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विभिन्न प्रहरी कार्यालयबाट बरामद तथा संरक्षण गरिएका ऐतिहासिक मूर्तिहरूलाई व्यवस्थित रूपमा प्रदर्शनी कक्षमा राखिएको छ । साथै नेपाल पुलिस क्लबको नयाँ भवनस्थित तिलिचो हलमा सुरक्षित राखिएका प्रस्तर तथा धातुका १५ थान मूर्तिहरू राष्ट्रिय सङ्ग्रहालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।
यस अवसरमा राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मी ले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सङ्ग्रहालयको भूमिका अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याइन् ।
उनले भनिन्,“सङ्ग्रहालय केवल पुराना वस्तुहरू राख्ने स्थान मात्र होइन, हाम्रो इतिहास, संस्कृति र पहिचानलाई जीवित राख्ने शैक्षिक तथा अनुसन्धान केन्द्र पनि हो । बरामद तथा संरक्षण गरिएका सम्पदालाई व्यवस्थित रूपमा सार्वजनिक प्रदर्शनमा ल्याउँदा नयाँ पुस्ताले आफ्नो सांस्कृतिक विरासतलाई नजिकबाट बुझ्ने अवसर पाउँछन् ।”
उनले राज्यका विभिन्न निकायबीचको सहकार्यले चोरी तथा हराएका सांस्कृतिक सम्पदाको संरक्षण र अभिलेखीकरण कार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय सङ्ग्रहालयद्वारा प्रकाशित “कला सम्पदा भाग–७” पुस्तकको समेत विमोचन गरिएको थियो । पुस्तकमा सङ्ग्रहालय परिसरमा रहेका ऐतिहासिक शिलालेखहरूको विवरण, ऐतिहासिक पृष्ठभूमि तथा धार्मिक एवं सांस्कृतिक महत्वसम्बन्धी अनुसन्धानमूलक सामग्री समावेश गरिएको जनाइएको छ ।
वक्ताहरूले अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसले विश्वभरका सङ्ग्रहालयबीच सांस्कृतिक संवाद, सम्पदा संरक्षण तथा ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने धारणा व्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।
