एमाले अखिलमा चुनावी रन्को ,थोमस बाँस्तोला अमेरिकाबाट नफर्कने

एमाले अखिलमा चुनावी रन्को ,थोमस बाँस्तोला अमेरिकाबाट  नफर्कने

काठमाडौं, २  मंसिर । एमालेका दुई प्रमुख भातृसंगठन यूवा संघ नेपाल र अनेरास्ववियुमा चुनावी रन्को  सुरु भएको छ । दुवै भातृसंगठनमा नयाँ नेतृत्व चयनका लागि पार्टीले पनि तयारी थालेको छ ।

अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिबेशन माघ २७, २८ र २९ मा गर्ने विषयमा छलफल अघि बढाइएको छ । दशैंअघि बसेको अखिलको बैठकले पुस १०, ११ र १२ गते गर्ने प्रस्ताव गरेको थियो । तर, नाकाबन्दीको समस्या लगायत विभिन्न कारण देखाउदै मितिबारे केहीले विरोध गरेका थिए ।

सोमबार बसेको अनेरास्ववियुको स्थायी कमिटी बैठकमा २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखिएकोमा सबै त्यसमा सहमत भएका छन् । यद्यपि, मंगलबार मात्र त्यससम्बन्धमा निर्णय हँुदैछ । बैठकमा काठमाडौं वा पोखरामा राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भएको थियो । उपाध्यक्ष ऐन महरले भने बझाङमा सम्मेलन गर्नुपर्ने प्रस्ताव राखेका थिए । भारतको नाकाबन्दीका कारण राष्ट्रिय सम्मेलनमा समेत असर परेको नेताहरुले बताएका छन् । पुस वा माघभित्रै सम्मेलन गर्नुपर्ने कुरामा सबैजसो नेताहरुको जोड थियो । अध्यक्ष किशोर मल्लकै नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने र उनले समयमा महाधिवेशन गर्न नसकेमा नयाँ कमिटी गठन गर्ने चेतावनी समेत अखिलका नेताहरुले दिएका छन् ।

अनेरास्ववियुको भावी नेतृत्वको लागि गत वर्षदेखि चार जना प्रतिस्पर्धामा उत्रिएका छन् । ऐन महर, नवीना लामा, दीपक गौतम र थोमस बास्तोला अध्यक्षको दौडधुपमा छन् । गाउँ गाउँका स्कुल तथा कलेजहरुसम्म संगठन रहेको अनेरास्ववियुको चुनावमा सधैं ठूलो प्रतिस्पर्धा हुने गरेको छ । सुरुमा प्यानलबाट टिकट पाउनै महाभारत हुने गरेको छ । टिकटमा पार्टीका ठुला नेताहरुको हस्तक्षेप हुने भएकाले बिद्यार्थी नेताहरु नेताहरुको घर धाउन थालिसकेका छन् ।

केभयो सोमबारको बैठकमा ? 

सोमबारको बैठकमा संगठनको नेतृत्वमा पुग्नका लागि उमेर र शैक्षिक योग्यताको सवाल उठे पनि त्यो लागू हुन सकेन । संगठनका अध्यक्ष मल्लले अनेरास्ववियुका दुवै गुटलाई उचालेर पद लम्ब्याउन खोजेको आरोप खेप्दै आएका छन् । एउटै गुटका उपाध्यक्ष ऐन महर र महासचिव नवीना लामा एक अर्कालाई अध्यक्षको दौडबाट आउट गर्ने र आफू नै अध्यक्ष हुने दाउमा छन् । नवीना लामा र महर एर्कै गुटका हुन् । तर अर्का उपाध्यक्ष दीपक गौतम पुसभित्रै नभए पनि माघ भन्दा पर सम्मेलन सार्नै नहुने पक्षमा छन् । अध्यक्षका दाबेदार थोमस बाँस्तोला ‘पीडित’ असोजमा सम्मेलन हुन नसकेपछि दशैंअघि नै अमेरिकातिर लागेका छन् । आयोजक समिति बनाउने र त्यसको संयोजक हुने भनेर हल्लाखल्ला गरे पनि सफल नभएपछि उनी सम्मेलनमा पनि अमेरिकाबाट नफर्किने मनस्थितिमा रहेको उनका निकटस्थ विद्यार्थी नेताहरु बताउँछन् । लालबाबु पण्डितले डीभी, पीआर लिने कर्मचारीका विरुद्ध कारबाही गर्ने भएपछि त्यसको असर थोमसमाथि पनि परेको छ । जसका कारण उनी अनेरास्ववियुको अध्यक्षको उम्मेदवार नै बन्न आँट गर्न नसकी अमेरिकामै रमाउन पुगेका छन् । उपाध्यग्क्ष ऐन महर पनि अध्यक्षको लबिङमा लागेका छन् । महरलाई पार्टीका अन्य जिम्मेवारी दिएर नवीनालाई नै अध्यक्षको उम्मेदवार बनाउने संभावना पनि रहेको बताइन्छ । महासचिवमा धेरै उम्मेदवार देखिएका छन् । लामा समूहबाट रश्मी आचार्य र महेश बर्तौला महासचिवका सशक्त दाबेदार हुन् । गौतम समूहबाट राधिका खतिवडाको नाम अग्रपंक्तिमा लिने गरिएको छ । यद्यपि अब्दुल हुसेन खाँ, जीवन राई पनि महासचिवकै उम्मेदवारका रुपमा देखिएका छन् । उपाध्यक्षमा सरोज यादव, निलकन्ठ आचार्यको नाम छ । महासचिवमा भाग नपुग्नेहरुमध्यबाट पनि उपाध्यक्षमा सेटल हुनेछन् । सचिव र कोषाध्यक्षमा वर्तमान सचिवलाय सदस्यहरुमध्येबाट छनोट हुनेछन् । उता अखिलका केही नेताहरु भने आज देखि चीन भ्रमणमा जाने भएका छन् । आरसी लामिछाने, समिक बडाल लगायत नेता चीन भ्रमणमा जान लागेका हुन्

तपाइँको प्रतिक्रिया ।