राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
कपन अनलाइन
काठमाण्डौ ,चैत ३०।
राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा महिलातर्फ आर्मीले एपीएफलाई २२–१२ ले पराजित गर्दै उपाधि जित्यो।
पुरुषतर्फ एपीएफले आर्मीमाथि १०–५ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।
यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ गण्डकीले कर्णाली प्रदेशलाई १२–७ ले हरायो। महिलातर्फ बागमतीले कर्णाली प्रदेशलाई ५–० ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो।
व्यक्तिगततर्फ पुरुषमा एपीएफका रोहन ढंगोल उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ आर्मीकी कुमारी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँ र ट्रफी हात पारिन्।
सेमिफाइनलमा पुरुषतर्फ आर्मीले कोशी प्रदेशलाई ४१–५ को फराकिलो अन्तरले हराएको थियो भने एपीएफले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। महिलातर्फ एपीएफले बागमती प्रदेशलाई र आर्मीले कर्णाली प्रदेशलाई हराउँदै उपाधि भिडन्त तय गरेका थिए।
प्रतियोगितामा विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
नेपाल रग्बी संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो।
समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा एसिया रग्बी संघका उपाध्यक्ष टंकलाल घिसिङलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
—
गौरीशंकर सुपर लिगमा हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट, एन्जल्स स्पोर्ट्स एकेडेमी, वन डे क्रिकेट एकेडेमी को जीत
गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले १५ ओभरमा ४ विकेट गुमाउँदै ११५ रन बनायो। टोलीका लागि शिशिर ओलीले सर्वाधिक ४३ रन बनाउँदा घनश्याम यादवले ३७ रनको महत्वपूर्ण योगदान दिए। स्वरज चौलागाईं र कुञ्जन आचार्यले अविजित रहँदै टिमलाई मजबुत योगफलसम्म पुर्याए।
बलिङतर्फ क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुरका इब्राहिम मिया, देवांश जंग लामिछाने र रिजन श्रेष्ठले समान १–१ विकेट लिए।
११६ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर यू–१७ ले राम्रो प्रदर्शन गर्न सकेन। क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुरका लागि देवांश जंग लामिछानेले १८ रन बनाए भने उदय मण्डलले १३ रन जोडे। अन्य ब्याट्सम्यानहरू ठूलो स्कोर बनाउन असफल हुँदा टोली लक्ष्यभन्दा १८ रनले पछि रह्यो।
हिमालयन स्पोर्ट्स म्यानेजमेन्टका लागि सक्षम क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।
त्यसैगरी गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा एन्जल्स स्पोर्ट्स एकेडेमीले बलुवाटार क्रिकेट क्लबलाई १६ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको एन्जल्स स्पोर्ट्स एकेडेमीले १५ ओभरमा ५ विकेट गुमाउँदै १२१ रन बनायो। टोलीका लागि सन्दीप साउदले शानदार ५३ रन बनाउँदै अर्धशतक प्रहार गरे भने जोय थापाले ४१ रनको महत्वपूर्ण योगदान दिए, धिरज यादव अविजित ७ रनमा रहे।
बलिङतर्फ बलुवाटार क्रिकेट क्लबका अर्जुन बोहराले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३ विकेट लिएर विपक्षीलाई दबाबमा राखेका थिए।
१२२ रनको लक्ष्य पछ्याएको बलुवाटार क्रिकेट क्लबले राम्रो सुरुवात गरे पनि निरन्तर विकेट गुमाउँदा १५ ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो। टोलीका लागि हेमराज सापकोटाले ३१ रन बनाए भने सुजन रोकायले २४ रन र सत्यम बस्नेतले १५ रन जोडे।
एन्जल्स स्पोर्ट्स एकेडेमीका लागि इन्साब बोहराले शानदार बलिङ गर्दै ३ विकेट लिएर टोलीको जितमा निर्णायक भूमिका खेले।
त्यसैगरी आजै भएको तेस्रो खेलमा वन डे क्रिकेट एकेडेमी ले शानदार प्रदर्शन गर्दै किंग्स क्रिकेट एकेडेमी लाई ६८ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको वन डे क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाउँदै १४० रनको बलियो योगफल बनायो।
टोलीका लागि धन राज दाहालले अविजित ३० रन बनाए भने अनिल बस्नेतले २५ रनको योगदान दिए। विवेक यादवले २२ रन जोड्दा पप्पु रायले १३ रन बनाए। अतिरिक्त ४० रनले पनि टोलीलाई ठूलो स्कोर बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
१४१ रनको लक्ष्य पछ्याएको किंग्स क्रिकेट एकेडेमी दबाबमा देखियो र नियमित विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सकेन। अभियन खड्काले १८ रन बनाउँदा शान्तनु बस्नेतले ११ रन जोडे, तर अन्य ब्याट्सम्यानहरू खासै चल्न सकेनन्।
बलिङतर्फ वन डे क्रिकेट एकेडेमीका सुजल कुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। साथै, प्रभास यादव र मुबारक नदाफले पनि २- २ विकेट लिँदै टोलीको जितमा योगदान दिए।
