बुढानिलकण्ठबाट हराएको मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ ,फागुन ११।
गोकर्णेश्वर नगरपालिका ६ बौद्ध नँयाबस्तीबाट आईतबार चोरीको मोटरसाइकल सहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा आउनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका ७ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने २२ वर्षीय विर विक्रम खड्का रहेका छन् ।
बा ९० प ३९ ७४ नम्बरको मोटरसाइकल नम्बर परिवर्तन गरी ना ५१ प ३२ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा बौद्ध नँयाबस्तिबाट फेला पारी खड्कालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका ४ बस्ने आशिष राना मगरले बुढानिलकण्ठ नगरपालिका ५ बाट हराएको भनी खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । मोटरसाइकल सहित नियन्त्रणमा आएका खड्कालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न अनुरोध गरिएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
