रिलायन्स इन्टरनेसनल एकेडेमीको वाककला क्षेत्रमा फेरि ऐतिहासिक सफलता,४० विद्यालयलाई पछि पार्दै सौरभ गिरी द्वितीय

रिलायन्स इन्टरनेसनल एकेडेमीको वाककला क्षेत्रमा फेरि ऐतिहासिक सफलता,४० विद्यालयलाई पछि पार्दै सौरभ गिरी द्वितीय

कपन अनलाइन

काठमाण्डौ ,फागुन ११।

वाककला क्षेत्रमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै रिलायन्स इन्टरनेसनल एकेडेमीका कक्षा ९ मा अध्ययनरत मेधावी छात्र सौरभ गिरीले अन्तरविद्यालयस्तरीय वाककला प्रतियोगितामा द्वितीय स्थान हासिल गरेका छन्। उनले ४० भन्दा बढी विद्यालयका प्रतिस्पर्धीहरूलाई पछि पार्दै उल्लेखनीय सफलता हात पारेका हुन्। जोरपाटीस्थित सुनौलो भविष्य बोर्डिङ स्कुलद्वारा शुक्रबार आयोजित उक्त प्रतियोगितामा उपत्यकाभित्रका ४० भन्दा बढी विद्यालयका विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो।

विभिन्न विद्यालयका प्रतिभाशाली वक्ताहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए भने कार्यक्रमभर बौद्धिक ऊर्जा र सिर्जनात्मक अभिव्यक्तिको माहोल छाएको थियो। उक्त प्रतिस्पर्धामा सौरभ गिरीले आफ्नो प्रभावशाली प्रस्तुति, स्पष्ट उच्चारण, तार्किक विश्लेषण तथा आत्मविश्वासपूर्ण अभिव्यक्तिमार्फत निर्णायक मण्डलको ध्यान आकर्षित गर्न सफल भए। समसामयिक विषयमा उनले प्रस्तुत गरेको विचार, उदाहरण र निष्कर्षले कार्यक्रमका सहभागी तथा उपस्थित अभिभावकहरूलाई समेत प्रभावित बनाएको आयोजक पक्षले जनाएको छ।

सौरभ गिरी पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल विद्यार्थीका रूपमा परिचित छन्। विद्यालयभित्र आयोजना हुने विभिन्न कार्यक्रम, वक्तृत्वकला, हाजिरीजवाफ तथा साहित्यिक गतिविधिमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्। उनको यस सफलताले विद्यालय परिवारमा थप उत्साह र प्रेरणा थपिएको छ। रिलायन्स इन्टरनेसनल एकेडेमीले आइतबारको बिहानी सभामा विशेष समारोहबीच विजेता विद्यार्थी सौरभलाई सम्मान गर्ने कार्यक्रम तय गरेको जनाएको छ।

विद्यालयका इसिए/सिसिए संयोजक श्रीधरप्रसाद पौडेलले विद्यालयले यसअघि पनि वाककला क्षेत्रमा स्थानीय तह, जिल्ला तथा प्रदेश स्तरमै आफ्नो वर्चस्व कायम राख्दै आएको जानकारी गराउँदै सौरभको उपलब्धिले विद्यालयको शैक्षिक तथा सह–पाठ्यक्रमीय उत्कृष्टताको यात्रालाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो। विद्यालय प्रशासनले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नियमित अभ्यास, मार्गदर्शन र प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउँदै आएको बताउँदै भविष्यमा यस्ता उपलब्धि अझ बढ्दै जाने विश्वास व्यक्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।