हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसमा अभिकलाई उपाधि पक्का
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
सेन्ट जेभियर्स कलेजका अभिक शाहले निहाना श्रेष्ठलाई पराजित गर्दै आइतबार अन्तिम चरणको खेल बाँकी छँदै हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि पक्का गरेका छन् ।
स्वीस लिग प्रणाली अनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा शीर्ष वरीयताका अभिकले लगातार आठ खेल जितेर हिमालयन च्यालेन्जर्स क्लासिकल चेसको उपाधि जित्ने पक्का गरेका हुन् । ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको प्रतियोगितामा १९१८ रेटेड उनी अन्तिम चरणको खेलअघि शतप्रतिशत जित हात पार्ने एक्लो खेलाडी पनि हुन् ।
अभिकले निहानालाई पराजित गर्नुअघि सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन र उजिभानी कँडेललाई पराजित गर्दै पूर्ण अंक बटुलेका थिए । उनले नवौं चरणमा हार्दिक पन्तविरुद्ध सोमबार प्रतिस्पर्धा गर्दा शतप्रतिशत जितलाई कायम राख्ने प्रयास गर्नेछन् ।
हिमालयन चेस एकेडेमीको काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीको चेस हल सञ्चालन भइरहेको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ । त्यस आधारमा अभिकले आठ जितसँगै अधिकतम २४ अंक बनाएका छन् । हार्दिक पन्त पाँच जित, दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अंकसहित दोस्रोमा छन् । उनी आठौं चरणमा सजलको चुनौती पन्छाउँदै दोस्रो स्थानमा उक्लिएका हुन् ।
१६९७ रेटेड सजल र सात्विकमान तुलाधरले समान पाँच जित, एक बराबरी र दुई हारसँगै १६ अंक जोडेका छन् । अन्तिम चरणमा यी दुई आपसमा भिड्दैछन् । आठौं चरणमा सजलले हार्दिकविरुद्ध हार बेहोरे भने सात्विकले शुभांग प्रधानलाई पराजित गरे । निहाना, प्रवीर केसी, आशिर्वाद, लियोन र अजि राईले समान १५ अंक बनाएका छन् । विमश लोहनी १४ अंकसहित शीर्ष दसमा छन् ।
अरिज राई, सात्विकमान तुलाधर, लियोन महर्जन र निहाना श्रेष्ठ समान तीन जित र दुई हारको नतिजासँगै १२ अंकमा छन् । विमश लोहनी, हार्दिक पन्त र प्रवीर केसीले समान तीन जित, दुई बराबरी र एक हारको नतिजासँगै ११ अंक जोडेका छन् । आठौं दिन आइतबार अभिक, हार्दिक र सात्विकसँगै अरिज, लियोन, विमश, रोहित श्रेष्ठ, ओजस्वी श्रेष्ठ, अग्रता आचार्य, अभियान राई, ईश्वर लामा, रेयांश खनाल र रियांशु पौडेलले पनि जित हासिल गरे । प्रवीरविरुद्ध आशिर्वाद र वियांका गौतमविरुद्ध सूर्यप्रतापको खेल बराबरीमा टुंगिए ।
कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ५ गते सोमबारसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ । छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि क्लासिकल चेस उपयुक्त मानिन्छ । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन् ।
हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।
चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।
