नेपाल आमा : सुशीला ढकाल अधिकारी ‘श्री’ (कविता )

नेपाल आमा : सुशीला ढकाल अधिकारी ‘श्री’ (कविता )

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।

सुन्दर शान्त विशाल
छाती भएकी तिमी
मेरी नेपाल आमा
गगनचुम्बी पहाडका
टाकुरीहरूमा
सेता हिउँको टोपीले
सजिएर सर्वोच्च शिखर
सगरमाथालाई शिरमा
बोकी राताम्मे फुलेका
लालीगुराँसको चौबन्दी
चोलीमा सजिएर
हरिया डाँडाकाँडाको
पटुकी बाँधी समथर
तराईको फाँटमा लहलह
झुलेका धान र पहेँलै फुलेका
तोरीहरूको फरिया लगाइ
आफ्ना सन्ततिहरूको
रक्षा गरेकी छौ
मेरी नेपाल आमा तिमीले

तिम्रै वक्ष्यस्थलमा
डाँफे मुनाल नाचिरहेछन्
तिम्रै कोखबाट उत्पत्ति भएका
स्वच्छ नदीनालाहरू
अमृतरुपी रसपान गराउँदै
नागबेली आकारमा
आफ्न्नो गन्तव्यको
खोजीमा दौडी रहेका छन्
विशाल हृदय भएकी तिमी
पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्म र उत्तरको
हिमाल देखि दक्षिणतर्फ
विभिन्न उपत्यकाहरू
महाभारतको चुरे भावरलाई
पिठिउँमा बोकेर
चारकोशे झाडीलाई
छिचोलेर तराईको
समथर फाँटमा
जताततै तिमी नै तिमी छौ
यो सुन्दर भूमिमा
तिम्रै अनुकम्पाले
हजारौँ वीरहरू जन्मे,
शान्तिका अग्रदूत भगवान्
गौतम बुद्ध एसियाका
तारा बने
तिम्रै सन्तति
हाम्रा पूर्खाले आर्जेको यो देश
चार जात छत्तीस वर्णको
साझा फूलबारीमा
हुर्किएर इमान र वीरताले
चम्केका छन् विश्व भरि नै
तिम्रै गर्भमा भएका जडीबुटीहरू
देशको आर्थिक स्रोत बनेका छन्
तिम्रै सौन्दर्यले मन्त्रमुग्ध
भएर हजारौँ हजार
विदेशी पर्यटक भित्रिएका छन्
विश्वमा छुट्टै अस्तित्व बोकेकी
मेरी आमा
कयौँ पटक शत्रुले
हमला गरे ता पनि
तिमी कत्ति पनि डगमगाइनौ
आफ्नो अस्तित्व जोगाउँदै
विश्वमा अडिक भएर रह्यौ
तिम्रो गुणगान हरपल
हरक्षण जति गाए पनि सकिँदैन
जय जननी
जय नेपाल आमा
जय जय मेरो देश ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।