मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ४ ।
तारकेश्वर नगरपालिका ४ पुरानो गुह्येश्वरीबाट हिजो (मंगलबार) चोरीको मोटरसाइकल सहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा ललितपुरको ललितपुर महानगरपालिका १४ रानिबु घर भई मकवानपुरको मनहरी गाउँपालिका ७ बस्ने २० वर्षीय प्रशान्त खत्री रहेका छन् ।
बागमती प्रदेश -०२-०४० प ०५१० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश -०२-०४२ प ६२६३ नम्बर राखेर चलाइरहेको अवस्थामा खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल काठमाडौँको बसुन्धारा बस्ने बाराको महागढीमाई नगरपालिका ८ का मोहम्मद आमिर अंसारीले हराएको भनी खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । मोटरसाइकल सहित नियन्त्रणमा आएका खत्रीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन ।
यस्तै काठमाडौँको कीर्तिपुर नगरपालिका १० बाट मोटरसाइकल चोरी गर्दै गरेका २ जनालाई पनि गत सोमबार (२०८२ मंसिर १ गते) ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश -०२-०६२ प ०६३६ नम्बरको कालो रङको मोटरसाइकल पार्किङ स्थलबाट चोरी गर्दै गरेका मकवानपुरको मनहरी गाउँपालिका २ का २७ वर्षीय समिर रुम्बा र मकवानपुरकै हेटौडा उप-महानगरपालिका २२ का २७ वर्षीय निमा रुम्बालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल सहित नियन्त्रणमा आएका रुम्बा द्वयलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।
