अब बुढानिलकण्ठका कार्यक्रममा खादा,माला र मायाको चिनो प्रयोग गर्न नपाइने
कपन अनलाइन
काठमाण्ड,कार्तिक २६।
बुढानिलकण्ठ नगरपालिकाको शिक्षा समितीको आज बसेको बैठकले नगर र विद्यालयका कार्यक्रममा प्रयोग हुने माला ,खादा र मायाको चिनो प्रयोग नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिने निर्णय गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाका तथा शिक्षा समितीका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले खर्च नियन्त्रण र मितव्ययिताका लागि कार्यक्रमहरुमा प्रयोग हुने खादा, माला तथा मायाको चिनो प्रयोग गर्न नपाइने निर्णय गरेको उपसचिव तथा शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिएका छन।
त्यस्तै सो बैठकले विद्यार्थीहरुको नैतिक आचरण र सामाजिक विकासका लागि “बुद्ध बुझौ, करुणामयी बनौ” भन्ने नाराका साथ रमाइलो शुक्रवार कार्यक्रम अन्तर्गत बुद्ध र बुद्धत्वका वारेमा नियमित कक्षा संचालन गर्ने पनि निर्णय गरेको छ।
नगरपालिकामा बसेको बैठकले प्रभावकारी शैक्षिक विकासका लागि रिपोर्ट कार्ड तयार गर्न सम्बन्धित पक्षलाई निर्देशन दिने निर्णय गरेको छ जसमा शिक्षकले विद्यार्थीको , प्रधानाध्यापकले शिक्षकको, व्यवस्थापन समिती र शिक्षक अभिभावक संघले प्रधानाध्यापकको र नगर शिक्षा समितीले विद्यालयको रिपोर्ट कार्ड तयार गर्ने छ।
यसैगरी हरेक विद्यालयमा विद्यार्थीहरुको गुनासो व्यवस्थापनका लागि हरेक विद्यालयमा गुनासो सुनुवाई कक्ष स्थापना गर्ने निर्णय गरेको शिक्षा समितीको बैठकले विद्यालयमा भएका अशल अभ्यासहरु समेटेर भिडियो प्रतियोगिता गर्ने तयारी गरेको छ।
अन्य विभिन्न निर्णयहरु गरेको उक्त बैठकले अभिभावक शिक्षालाई प्रभावकारी बनाउनका लागि “बुढानिलकण्ठमा बसौ बुढानिलकण्ठ मै पढौ” कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको प्रमख सिंहले बताएका छन।
