चार मुक्तक : डा. श्यामप्रसाद न्यौपाने

चार मुक्तक :  डा. श्यामप्रसाद न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२।

निष्पट्ट रातले कहिल्यै मन पराएन ताराहरूलाई
बोक्न निकै बाध्य भए जनता अप्ठ्याराहरूलाई
लोकहितमा कामै भएन नभन्नुहोला बिर्सेर पनि
उज्यालो कहाँ मनपर्छ र ! प्रभो अँध्याराहरूलाई
।।१।।
फर्कनै मान्दैनन् बाध्यताले परदेश गा’काहरू पनि
नैराश्यमात्र ओकल्छन् न्याउलीका भाकाहरू पनि
कस्तो थियो, कस्तो बनायौँ हाम्रै चरित्रले यो देश
सम्झिदैमा छचल्किएर आउँछन् आँखाहरू पनि
।।२।।
के के न सोचेको ‘खिस्स’ भनेझैँ भयो
तीव्र दबाब पनि ‘छिस्स’ भनेझैँ भयो
अब त केही हुन्छ कि भन्ने आशा थियो
फेरि पनि टाइँ टाइँ ’फिस्स’ भनेझैँ भयो
।।३।।
हरेक पल प्रतिपलको आफ्नै पहिचान हुन्छ
क्रिया–प्रतिक्रियाको प्राकृतिक विधान हुन्छ
अनायासै केही हुन्छ भन्ने सोच्नु नै नादानी हो
अँध्यारो रात गुज्रिएपछि नै सुन्दर बिहान हुन्छ
।।४।।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।