भ्रष्टाचारमाथि इमानको उज्यालो : याम बहादुर थापा मगर (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २२।
अँध्यारो कोठाभित्र जब विवेकको आवाज सुन्छु,
त्यो आवाज भन्छ — “सत्य कहिल्यै हराउँदैन ।”
भ्रष्टाचारका जरा गहिरा छन्,
तर
इमानको एउटा बीउ रोप्न सकियो भने,
देशको मुटु पुनः धड्किन थाल्छ ।
घूसको धुवाँले ढाकिएको प्रशासन,
आशाको गन्ध बिर्सिएको सडक,
तर त्यही भीडभाडबीच कुनै युवा उठ्छ ।
कागज होइन, साहस बोकेर ।
उसको नजरमा देशको भविष्य चम्कन्छ,
र त्यो चमक कुनै पुरस्कार होइन, जिम्मेवारी हो ।
भ्रष्टाचारले देशको आत्मा बाँधेको छ,
तर हरेक इमानदार हातले ती डोरी काट्न सक्छ ।
साँचो देशभक्ती भाषण होइन,
निस्वार्थ कर्म हो — जो छायाँमा पनि उज्यालो खोज्छ ।
नेपालको पिँढी इमानको बाटो हिँडोस्,
विद्यालयका पाठ्यपुस्तकमा “सत्य” मात्र होइन,
“साहस” पनि पढाइयोस् ।
किनभने समृद्ध नेपाल स्वप्न होइन ।
त्यो त सम्भव हो,
यदि हामी प्रत्येकले भ्रष्टाचारमाथि
इमानको उज्यालो बाल्न सकेँ भने ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
