पहिलो पटक बढी पेट्रोलियम पदार्थ भित्रियो

धनगढी, २७ असोज । भारतले लगाएको अघोषित नाकाबन्दी पछि हिजो  पहिलो पटक कैलाली भन्सार नाकाबाट सबैभन्दा बढी तीन लाख ६८ हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल धनगढी भित्रिएको छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले हिजो  २० हजार लिटर क्षमताका १६ र १२ हजार लिटर क्षमताका चार ट्याङ्कर डिजेल भित्रिएको जानकारी दिनुभयो ।

यस्तै २० हजार लिटर क्षमताका दुई ट्याङ्कर पेट्रोल भित्रिएका छन् । नाकाबन्दीपछि भारतीय आयल निगमले पहिलो पटक माग अनुसारको पेट्रोलियम पदार्थ उपलब्ध गराएको नेपाल आयल निगमका कर्मचारीले बताएका छन् ।

यसअघिसम्म माग परिमाणको १० प्रतिशतमात्र पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको भारतीय आयल निगमले हिजो  भने पर्याप्त तेल दिएको निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख पौडेलले बताउनुभयो ।

सोमबारसम्म निगमको क्षेत्रीय कार्यालयमा आठ लाख लिटर डिजेल र ५६ हजार लिटर पेट्रोल मौज्दात रहेको थियो । इन्धन आपूर्तिमा केही सहज भएपछि आज सुदूरपश्चिमका ६७ वटा पेट्रोलियम पम्पबाट कोटा प्रणालीका आधारमा डिजेल तथा पेट्रोल बिक्री वितरण गरिएको छ ।

मागअनुसारको परिमाणमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुनसकेमा आगामी चार÷पाँच दिनसम्ममा सुदूरपश्चिममा आपूर्ति सहज भई अभाव हट्ने क्षेत्रीय कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।

यसैबीच भारतको उत्तर प्रदेशस्थित बन्थरा डिपोमा पुगेका आयल निगमका २६ ट्याङ्करमा पनि आज पेट्रोलियम पदार्थ लोड भएको जानकारी आएको कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।