अस्तव्यस्त राजनीति, अस्तव्यस्त आन्दोलन: यूहन्ना काप्री
कपन अनलाइन
काठमाडौं, असोज २ ।
नेपालमा राजनीति र शासन सधैं असंगठित, अराजक र अस्तव्यस्त नै रह्यो। तर विडम्बना त के छ भने—हाम्रा राजनीतिक प्रदर्शन वा आन्दोलनहरू भने कुनै समय व्यवस्थितजस्तै लाग्थे। अव्यवस्थाभित्र पनि एउटा ताल मिल्थ्यो, हल्लाभित्र पनि कुनै किसिमको अनुशासन, उथलपुथलमै पनि एउटा ‘प्रणाली’को अनुभूति हुन्थ्यो।
तर पछिल्लो Gen-Z को आन्दोलनमा त्यस्तो प्रणाली पल्टियो। यसले नै हाम्रो सरकारको ढिलासुस्ती, हाम्रो कर्मचारीतन्त्रको झमेलापूर्ण अस्तव्यस्तता, असंगति र अस्वच्छता प्रतिबिम्बित गरिदियो। आन्दोलन स्वयं पनि दिशाहीन र असंगठित देखियो।
जसरी Gen-Z को आन्दोलनमा कुनै ठोस नेता छैन, त्यसरी नै नेताहरुले पनि आ–आफ्ना कुरा मात्र गर्छन्—कोही के भन्छन्, कोही के भन्छन्, सबैतिर अस्तव्यस्तता। कतिपय ठाउँमा त उनीहरू झगडातिर, लडाइँतिर अग्रसर भएको देखिन्छ।
किनभने अबको राजनीति पुरानोजस्तो कुनै एक व्यक्तिको आधारमा चल्ने होइन। हाम्रो देशको राजनीति र कर्मचारीतन्त्र जस्तो छ, अबको आन्दोलन पनि त्यस्तै हुनेछ। जात, धर्म वा वर्गको आधारले होइन; बरु समाज जस्तो छ, देश जस्तो छ, राजनीति जस्तो छ—तेस्तै आन्दोलन हुनेछ। यो पुस्ता ढोगी त छैन, तर उनीहरूको आन्दोलन त्यही समाजको वास्तविक अनुहार प्रकट गर्नेछ।
अब हामी एउटा विरोधाभासमा उभिएका छौं—हामीलाई चाहिएको छ व्यवस्थित आन्दोलन, तर यो पुस्ता सजावटभन्दा टाढा छ। आन्दोलन कुनै आदर्श मूर्तिको रूपमा होइन, बरु हाम्रो भग्नावशेष राजनीति र अस्तव्यस्त कर्मचारीतन्त्रकै प्रतिविम्बको रूपमा प्रकट हुनेछ।
हो, यो पुस्ता अटेरी र अज्ञानी लाग्न सक्छ। तर ढोगी भने छैन। त्यसैले अबको आन्दोलन पनि वास्तविक अनुहारमा प्रकट हुनेछ—जस्तो हाम्रो राजनीति र कर्मचारीतन्त्र त्यस्तै।
(यूहन्ना काप्री सारथी पाठशाला बुढानिलकण्ठ -६ का प्रिसिपल हुन )
