ट्रुंग्राम इन्टरनेशनल एकेडेमीकी छात्रा बब्तिका कार्कीको अन्तर्राष्ट्रिय फुटबलमा सनसनीपूर्ण डेब्यु
कपन अनलाइन
काठमाण्डौ,भाद्र १७/ प्रज्वल ठकुरी
ट्रुंग्राम इन्टरनेशनल एकेडेमी (TIA) ले आफ्नो छात्रा बब्तिका कार्कीको शानदार अन्तर्राष्ट्रिय फुटबल यात्राको घोषणा गर्दा गर्व महसुस गरेको छ। दश कक्षामा अध्ययनरत बब्तिकालाई हालै सम्पन्न SAFF U-17 महिला च्याम्पियनशिपका लागि नेपालको U-17 राष्ट्रिय फुटबल टोलीमा मिडफिल्डरको रूपमा चयन गरिएको थियो।
उनको चयन आफैंमा एउटा ठूलो सफलता थियो जुन उपलब्धिको पछाडि उनको कडा परिश्रम, समर्पण र फुटबलप्रतिको अटुट जोश रहेको छ।
आफ्ना बुबाबाट गहिरो प्रेरणा पाएकी बब्तिकाले त्योभन्दा पनि ठूलो उपलब्धि हासिल गरिन्। भुटानविरुद्धको खेलमा बब्तिकाले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै सनसनी मच्चाइन्।
उनको यो निर्णायक गोलले नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो, जसले नेपाललाई अन्तर्राष्ट्रिय च्याम्पियनशिपमा तेस्रो स्थान दिलाउन मद्दत गर्यो। यो उनको मात्र नभई सम्पूर्ण देशका लागि एक अविस्मरणीय क्षण थियो।
बब्तिकाको यो प्रदर्शनले उनको फुटबल करियरको उत्कृष्ट सुरुवातको संकेत गरेको छ। TIA परिवार बब्तिकाको यो अद्भुत प्रदर्शनबाट अत्यन्तै खुसी र गौरवान्वित छ।
( प्रज्वल ठकुरी TIA मा अध्यापनरत कपन अनलाइनका प्रशिक्षार्थी पत्रकार हुन् )
