Samten Memorial Educational Academy बुढानिलकण्ठ-११ मा स्वागत कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १५/ राम कार्की
Samten Memorial Educational Academy बुढानिलकण्ठ-११ मा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गर्ने उद्देश्यले आयोजना गरेको भव्य कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका अध्यक्ष निम्तो शेर्पाको प्रमुख आतिथ्य र विशेष अतिथि रिन्जेन छोमु शेर्पाको उपस्थितिमा कार्यक्रम विधिवत् सम्पन्न भएको हो।
अध्यक्ष शेर्पा र प्राचार्य दिनेश भुजेलले संयुक्त रूपमा गमलामा बिरुवा रोपेर सुरुवात उद्घाटन सत्रमा विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थिति उत्साहजनक देखिएको थियो।
अध्यक्ष निम्तो शेर्पाले सम्बोधन गर्दै विद्यार्थीहरूको हित र उज्ज्वल भविष्यलाई ध्यानमा राखी आगामी दिनमा थप परिणाममुखी कदम चालिने बताएका थिए । उनले विद्यालयसँगै कलेजलाई पनि समान प्राथमिकता दिँदै शैक्षिक गुणस्तरलाई अझ उच्चस्तरमा पुर्याउने प्रतिबद्धता जनाए ।
त्यस्तै, प्राचार्य दिनेश भुजेलले कक्षा ११ का नयाँ विद्यार्थीलाई हार्दिक स्वागत गर्दै यस ब्याचलाई पनि उत्कृष्ट बनाउन शिक्षक–प्रशासन सबै प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र लगनशीलताका साथ अघि बढ्न प्रेरित गर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमको विशेष आकर्षण कक्षा ११ की कक्षा शिक्षिका मञ्जु सापकोटाद्वारा प्रस्तुत गरिएको हृदयस्पर्शी कविता थियो, जसले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकैसाथ मन्त्रमुग्ध बनाएको थियो। साथै, कक्षा १२ र कक्षा ११ का विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रम — गीत, नृत्य, वाद्य वादन तथा अन्य प्रस्तुतीहरूले कार्यक्रमलाई थप रंगीन र मनोरञ्जनात्मक बनाएको थियो।
नयाँ विद्यार्थीहरूको तर्फबाट बोल्दै करिना गुरुङले Samten Memorial Educational Academy मा छात्रवृत्ति प्राप्त गर्न पाउँदा आफूहरू अत्यन्तै खुसी भएको भावना व्यक्त गरिन्। उनले वरिष्ट विद्यार्थीहरूको मार्गदर्शन र प्रेरणाले आफूहरूलाई सही बाटोमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा विद्यालयलाई गौरवान्वित पार्ने प्रतिज्ञा समेत गरिन्।
कार्यक्रमको अन्तिम चरणमा प्राचार्य दिनेश भुजेल सरको गुञ्जायमान गीतमा सहभागी सबै विद्यार्थी र शिक्षकहरू रमाइलो वातावरणमा नाच्दै उत्सव मनाएका थिए। सोही क्रममा अध्यक्ष निम्तो शेर्पाले कार्यक्रमलाई औपचारिक रूपमा समापन गरेका थिए ।
यसैबीच, विद्यालय प्रशासनले जानकारी दिँदै १०० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने कोटा यस शैक्षिक सत्रमा जम्मा १० जना मात्र बाँकी रहेको हुँदा इच्छुक विद्यार्थी तथा अभिभावकलाई तुरुन्त आफ्नो कोटा सुरक्षित गर्न आग्रह गरेको छ।
भव्य रूपमा सम्पन्न उक्त स्वागत समारोहले विद्यालयमा नयाँ उमंग र ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।
( राम कार्की Samten Memorial Educational Academy मा अध्यापनरत कपन अनलाइनका प्रशिक्षार्थी पत्रकार हुन् )
