१९औँ ग्रिनल्याण्ड बास्केटबलमा टीआईए स्कुलको वर्चस्व, चौथो उपाधि हात पार्दै सिनियर ब्वाइज च्याम्पियन

१९औँ ग्रिनल्याण्ड बास्केटबलमा टीआईए स्कुलको वर्चस्व, चौथो उपाधि हात पार्दै सिनियर ब्वाइज च्याम्पियन

कपन अनलाइन

काठमाडौं,भाद्र १४।

ग्रिनल्याण्ड आवासीय विद्यालयको आयोजनामा हालै सम्पन्न भएको १९औँ ग्रिनल्याण्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज उपाधि ठुङ्रम इन्टरनेशनल एकेडेमी (TIA) ले जितेको छ। १० दिनसम्म चलेको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा टीआईएले न्युटन एकेडेमीलाई ६७-५८ को स्कोरमा हराउँदै आफ्नो दबदबा कायम राखेको छ।
यो शानदार जितसँगै टीआईए स्कुलले अन्तर विद्यालय बास्केटबलको सिनियर ब्वाइज समूहमा चौथो पटक च्याम्पियन बनेर आफ्नो अजेय शक्तिको प्रमाण दिएको छ। यस वर्षको उपाधि जित्नुमा टोलीका खेलाडीहरूको कडा मेहनतका साथै प्रशिक्षक र व्यवस्थापनको ठूलो हात रहेको छ। सिनियर ब्वाइज टोलीका मुख्य प्रशिक्षक केदार बुढाथोकीको कुशल प्रशिक्षण र टीआईए बास्केटबल क्लबको निरन्तर प्रयासले यो सफलता सम्भव भएको हो।
खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन र टिम भावना विकास गर्न सकिने कुरा विद्यालयका सह-प्राचार्य बिनोद घिमिरेले बताएका छन्। त्यस्तै, खेलकुद प्रशिक्षक पूर्ण न्यौपानेले “खेल श्वास्थ्यका लागि र खेलाडी राष्ट्रका लागि” भन्ने नाराका साथ आयोजना हुने यस्ता प्रतियोगिताले स्वस्थ र अनुशासित नागरिक बनाउन सहयोग गर्ने धारणा राखेका छन्।
प्रतियोगितामा जुनियर छात्र, सिनियर छात्रा र सिनियर छात्र समूह गरी जम्मा ५६ टोलीको सहभागिता रहेको थियो। नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगिताले नेपाली बास्केटबलको भविष्यका लागि नयाँ र प्रतिभाशाली खेलाडीहरू जन्माउने विश्वास गरिएको छ।

तपाइँको प्रतिक्रिया ।