पेट्रोलियम पदार्थ अभावसँगै मेलम्ची सुरुङ निर्माण ठप्प

काठमाडौँ, १५ असोज । पेट्रोलियम पदार्थको अभावसँगै काठमाडौँवासीको तिर्खा मेटाउन बहुप्रतीक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका सात वटै स्थानबाट सुरुङ खन्ने काम रोकिएको छ ।

इन्धन अभावका कारण बिहीबारदेखि सातै स्थानको सुरुङ निर्माणको काम रोकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिनुभयो । “तीन दिनअघिसम्म सुन्दरीजलबाट पनि सुरुङ खन्ने काम भइरहेको थियो, तेलको अभावले रोकियो, बिहीबारदेखि काम भइरहेको एक मात्र सुरुङ मार्ग सिन्धुको काम पनि रोकियो, तेल, विस्फोटक पदार्थ, सिमेन्ट एवम् ढुवानी समस्याका कारण काम रोक्न बाध्य हुनुप¥यो”–उहाँले भन्नुभयो ।

आयोजनाको सात स्थानबाट काम सञ्चालन गर्न मासिक दुई लाख लि डिजेलको आवश्यकता पर्ने पनि बताइएको छ । सुरुङभित्र आएका ठूला ढुङ्गालगायत कडा चट्टान विस्फोट गर्न विस्फोटक पदार्थको समेत अभाव भएकाले काम रोक्न बाध्य भएको समितिले जनाएको छ ।

“पन्ध्र दिनअघि भारतको आइडिएल एक्स्प्लोसिभ लिमिटेडबाट ल्याइएको विस्फोटक पदार्थ रक्सौलमा बसेर नेपाल आयात गर्न नसकी कम्पनीमै फर्कियो, कामका लागि विस्फोटक पदार्थ ल्याउने लाइसेन्स भारतको मात्र भएकाले थप समस्यामा परेका छौँ”–उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसबाट ल्याइने पानीका लागि खनिनुपर्ने २७.५ किमी सुरुङमध्ये अहिलेसम्म १४ किमी मात्र सकिएको र १३.५ किमी बाँकी रहेको समितिले जनाएको छ । विसं २०७३ असोज मसान्तसम्म काम सक्नुपर्ने सम्झौता इटालेली निर्माण कम्पनी सिएमसीसँग गरिए पनि अब नसकिने निश्चित भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।