गोल्फुटारमा महोत्सवमा आज एलिना चौहान र सरोज लामिछाने आउने
कपन अनलाइन
काठमाडौं , साउन ९।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ को सहकार्यमा गोल्फुटार फुटबल ग्राउण्डमा “गोल्फुटार सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१” आयोजना हुने भएको छ। महोत्सव साउन ९ गते विशेष कार्यक्रमसहित सञ्चालन हुने आयोजक संयुक्त नेपाल मेला महोत्सव समूह प्रा.लि.ले जनाएको छ।
४ बजे देखि हुने कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायिका एलिना चौहान, गायक सरोज लामिछाने, राजन चौलागाईं (खैराते), र चर्चित उद्घोषकद्वय रमेश भेलोडी र विनोद लामा रहनेछन्। महोत्सवमा सांगीतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रमहरू, स्थानीय उत्पादनको प्रदर्शनी तथा व्यापारिक स्टलहरू राखिनेछन्।
टिकट दर रु. १००/- तोकिएको छ भने महोत्सवको व्यवस्थापनमा महाङ्काल युवा क्लबको सक्रिय सहभागिता रहनेछ।
स्थानीय विकास, संस्कृति संरक्षण र व्यापार प्रवर्द्धनका लागि आयोजना गरिन लागेको यस महोत्सवले क्षेत्रीयस्तरमै उल्लेख्य योगदान दिने अपेक्षा गरिएको छ।
