सरकारले चाँडो पुनःनिर्माणको नीति लिन्छ ः अर्थमन्त्री डा महत

सरकारले चाँडो पुनःनिर्माणको नीति लिन्छ ः अर्थमन्त्री डा महत

काठमाडौँ, १३ असोज । अर्थमन्त्री डा रामशरण महतले सरकारले चाँडै पुनःनिर्माणको नीति लिने बताउनुभएको छ ।
भूकम्पबाट प्रभावित नुवाकोटका क्षेत्रगत अध्ययन र पुनःनिर्माण सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रियामा अर्थमन्त्री डा महतले पुनःनिर्माणमा सबै निकायको सहयोग हुनु आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँले भन्नुभयो– “व्यक्तिको चाहनाअनुसार घर निर्माण हुने भएकाले स्थानीय जन सहभागिता आवश्यक छ ।” भूकम्पले धेरै ठाउँ बस्नलायक नभएको भन्दै भवन विभागले बनाएको नक्साअनुसार नयाँ घरको निर्माण गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पुनःनिर्माणका लागि हामीहरुसँग प्रशस्त स्रोत साधन भएकाले त्यसको प्रयोग गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भूकम्पपछि पुनःनिर्माणसँगै नवनिर्माणमा समेत लाग्नु जरुरी रहेको औँल्याउनुभयो ।

नेता महतले पुनःनिर्माण गर्दा एउटा गाउँमा एउटा नमुना बस्ती बनाउनु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल भूकम्पको अत्यन्त जोखिम क्षेत्र भएकाले त्यसलाई ध्यानमा राखेर पुनःनिर्माणमा लाग्न आग्रह गर्नुभयोे ।

छलफलमा सभासद्हरु रामहरि खतिवडा, राममायाँ बोगटी, भीमसेनदास प्रधान, सोमबहादुर गुरुङ, पुस्कर ओझा, पार्वत गुरुङ, राधिका तामाङलगायतले हरेक क्षेत्रको भू–धरातल फरक भएकाले पुनःनिर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नुवाकोटमा भूकम्पबाट एक हजार १०९ जनाको ज्यान गएको थियो भने एक हजार ५० जना घाइते भएका थिए । ७५ हजार ५६२ आवासमध्ये ६७ प्रतिशत भवन पूर्ण ध्वस्त भएको थियो भने २० प्रतिशत घर आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्ला दैवी उद्धार समिति नुवाकोट, हाम्रो विकास प्रवद्र्धन कोष बट्टार नुवाकोट, स्वायत्तता प्रतिष्ठान काठमाडौँ र इन्फो एसेम्ब्ली प्रालिले भूकम्प क्षति र पुनःनिर्माणका बारेमा अध्ययन गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।