मिसेस नेपाल वर्ल्ड २०२५ को लागि आवेदन खुला,अडिसन श्रावण १७
कपन अनलाइन
काठमाडौं,असार २२।
विश्व भरीका महिलाहरुका लागि ‘मिसेस वल्र्ड २०२५’ एउटा महत्वपूर्ण सौन्दर्य प्रतियोगिता हो । यो प्रतियोगितामा सहभागी भएर मिसेस वर्ल्ड को ताज पहिरन यस प्रति चासो राख्ने विश्वभरका मुलुकका महिलाहरु चाहन्छन् ।
यसै क्रममा नेपालले पनि बिगत चार वर्षदेखि रिवन इन्टरटेनमेन्ट प्रा.लि.ले यो प्रतियोगिताको नेपाल संस्करणको रुपमा ‘मिसेस नेपाल वल्र्ड’को आयोजना गर्दै आएको छ । जसका कारण नेपाली विवाहित महिलाहरूका लागि यो सबै भन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित भएको छ ।
यसै बिच चौथो संस्करणको ‘मिसेस नेपाल वल्र्ड २०२५’ को लागि आवेदन खुला गरिएको छ । ललितपुर पुलचोक स्थित स्क्वायर होटलमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आयोजक संंस्था रिबन इन्टरटेनमेन्ट प्रा.लि.ले प्रतियोगिताको नयाँ संस्करणको घोषणा गरेको छ । सोही कार्यक्रममा यो संस्करणको लागि आवेदन प्रक्रिया सुरु गरिएको घोषणा समेत गरियो ।
महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु कान्त झाले कार्यक्रममा बताए । यस वर्षको प्रतियोगिता बिगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने जानकारी गराउँदै अध्यक्ष झाले कार्यक्रममा भने, ‘यसपटकको मिसेस नेपाल वल्र्ड प्रतियोगिता केवल सौन्दर्य र प्रतिभा प्रस्तुति मात्र नभई, महिलाहरूको नेतृत्व, आत्मविश्वास, र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो अभियानका रूपमा अघि सारिएको छ ।’
उनले प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने जनाए । प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइने बताइएको छ ।
यस प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको कुनै मापदण्ड राखिएको छैन । इच्छुक प्रतियोगीहरूले न्यूनतम एस.एल.सी. उत्तीर्ण हुनुपर्ने छ । विवाहित महिला मात्र नभई दम्पत्य सम्बन्ध विच्छेद तथा एकल महिलाहरूले पनि यो प्रतियोगितामा फाराम भर्न सक्ने छन् । आवेदन फारम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने छ ।
सोही मञ्चबाट मिसेस नेपाल वल्र्डसँगै ८ औ संस्करणको मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि घोषणा गरिनेछ । विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिका हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
विगत वर्षहरूमा मिसेस नेपाल वल्र्डको उपाधि पाउने मध्ये २०२१ मा दिक्ष्या केसी, २०२३ मा पृथ्वीया थापा थिए । यस्तै २०२४ मा डेनिला कार्कीले यो उपाधि चुमेकी हुन् । विशेष रूपमा पृथ्वीया थापाले मिसेस वल्र्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ‘ह्युम्यानिटेरियन अवार्ड’ प्राप्त गरेकी थिइन्, जुन नेपालको लागि गौरवको विषय बनेको थियो ।
यो प्रतियोगिताका अफिसियल कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वल्र्डलाई केवल राष्ट्रिय सीमाभित्र सीमित नराखी अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन विशेष योजना बनाइएको उल्लेख गरे । उनका अनुसार, “हामीले यो प्रतियोगितालाई विश्व स्तरमा स्थापित गर्नका लागि आवश्यक पूर्वाधार र अन्तर्राष्ट्रिय समन्वयमा विशेष ध्यान दिएका छौं । अमेरिका लगायतका देशमा रहेका नेपाली समुदाय र साझेदार संस्थासँगको समन्वयमार्फत हाम्रो उद्देश्य नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा अझ मजबुत बनाउनु हो ।” उनले यसपटकको तयारीलाई मिसेस नेपालको अन्तर्राष्ट्रिय उचाइमा डोहो¥याउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे ।
रिबन इन्टरटेनमेन्ट प्रा.लि.ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि महिलाहरूलाई आत्मविश्वास, सीप र व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । मिसेस नेपाल वल्र्ड २०२५ को नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्ने छन् । आईना गजुरेल सहायक कोरियोग्राफरको रूपमा रहने छिन् । प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन् । प्रशिक्षक टोलीमा सञ्चार, सौन्दर्य, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न विधाका विज्ञहरूको सहभागिता रहनेछ । प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ ।
