नाकाबन्दी लगाउने भारतीय सरकार असफल हुन्छः गृहमन्त्री

नाकाबन्दी लगाउने भारतीय सरकार असफल हुन्छः गृहमन्त्री

काठमाडौँ, १२ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकार असफल हुने दाबी गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा उपप्रधानमन्त्री गौतमले २०४५ सालमा नेपालमा नाकाबन्दी लगाएपछि त्यसबेलाको भारतीय काँग्रेस नेतृत्वको सरकार असफल भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

download

यसपटक पनि नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकारले त्यही असफलता भोग्नुपर्ने जिकिर गर्दै उहाँले भन्नुभयो – “नाकाबन्दी संसारभरका कानुनको उल्लङ्घन र भूपरिवेष्टित देशले पाएको अधिकार उल्लङ्घन गरेर भएको छ । भारतको संविधानको विरुद्धमा गएर नाकाबन्दी गरिएको छ । त्यसैले भारतका जनताले निर्णय गरेर नेपाली जनतालाई न्याय दिनेछन् ।” सरकारले नाकाबन्दी खुलाउन कूटनीतिक प्रयास गरिरहेको जानकारी गराउँदै उपप्रधानमन्त्री गौतमले भारतले यसो गर्ला भन्ने आफूहरुले नसोचेको बताउनुभयो ।

आन्दोलनरत दलसँग वार्ता गर्न सरकार सदैव तयार रहेको र त्यसका लागि अथक प्रयत्न गरिरहेको जानकारी गराउँदै उहाँले मधेसमा कुनै माग नभई र विषय नै नभई आन्दोलन गरिएको आरोप लगाउनुभयो । उहाँले ११ निर्वाचन क्षेत्र जितेकाले २२९ निर्वाचन क्षेत्र जितेकालाई हल्लाउने ? भनी प्रश्न पनि गर्नुभयो । नाकाबन्दीमा आपूर्ति सहज बनाउन सरकारले चीनतर्फको बाटो सञ्चालन गर्न प्रयास गरिरहेको जानकारी गराउँदै उहाँले तातोपानी र रसुवाका नाका छिट्टै सञ्चालनमा आउने जानकारी गराउनुभयो ।

वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले अघोषित नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको सञ्चिति कम हुँदै गएको र सञ्चितिलाई व्यवस्थित रुपमा वितरण गरिएको जानकारी गराउनुभयो । सचिव उपाध्यायले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको वितरणमा समेत कडा अनुगमन गरी कुनै पनि विकृति आउन नदिने विश्वास दिलाउनुभयो ।

बैठकमा आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ४५ दिनदेखिको निरन्तरको आन्दोलन र बन्दका बाबजुद पनि पेट्रोलियम पदार्थको आपूर्ति गरिँदै आएपनि अघोषित नाकाबन्दीका कारण मौज्दात पेट्रोलियम पदार्थ सकिँदै गएको बताउनुभयो ।

बैठकमा समितिका सभापति शेरधन राईले सुरक्षाको प्रबन्ध गरी तराई–मधेसमा यातायात सहज गर्न र दसैँ तिहारमा खाद्यान्न आपूर्ति सहज र व्यवस्थित गर्न सरकारलाई निर्देशन दिनुभयो । सभापति राईले असहज अवस्थामा बजारमा देखिने विकृति नियन्त्रण गर्न, अघोषित नाकाबन्दी खोल्नका लागि पहल थाल्न र तत्काल उत्तरी नाका सञ्चालन गर्नका लागि सरकारलाई निर्देशन दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।