सीएनआईवाईएफ लुम्बिनीद्वारा ‘इण्डस्ट्री भिजिट’ कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाण्डौ,असार १४।
मञ्चका उद्योग अध्ययन अवलोकन भ्रमणका संयोजन सुरज उप्रतीले गरेका थिए भने मञ्चका अध्यक्ष राजन कसजुको नेतृत्वमा ३० बढी युवा उद्यमीहरूको सहभागिता रहेको थियो । टोलीले तिलोत्तमा नगरपालिका-१७, गंगोलियामा रहेको ‘केपीआई हेल्मेट’ उद्योग र नवलपरासीको रामग्राम नगरपालिकामा रहेको ‘एसियन कंक्रिटो’ उद्योगको भ्रमण गरेको थियो ।
भ्रमणका क्रममा ‘केपिआई हेल्मेट’का निर्देशक सीमा बस्याल पाण्डेयले उत्पादनको प्रक्रिया, उद्योग सञ्चालनका पद्धती र यहाँ देखिएका व्यावसायिक समस्याहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइन् ।
२०७३ सालमा सञ्चालनमा आएको केपीआई हेल्मेट नेपालमै उच्च गुणस्तरको सुरक्षात्मक हेल्मेट उत्पादन गर्ने अग्रणी उद्योगहरूमध्ये एक रहेको उनले दाबी समेत गरिन् । सो उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्दै आएको उनले बताइन् । नेपाली बजारका लागि मात्रै होइन, भविष्यमा निर्यात पनि गर्ने योजना रहेको जानकारी दिइन् । कोहिनुर नेपालमै हेल्मेट उत्पादन गर्ने पहिलो कम्पनी हो ।
त्यस्तै, एसियन कंक्रिटोका भाइस प्रेसिडेण्ट श्यामलाल झाले आफ्नो उद्योगको अवस्था, उत्पादन र विस्तार योजनाबारे सहभागीहरूलाई जानकारी गराए । निर्माण सामग्री क्षेत्रमा उल्लेखनीय स्थान बनाएको एसियन कंक्रिटोले हाल नेपालका विभिन्न ठूला निर्माण परियोजनामा योगदान दिइरहेको उनले बताए । साथै, छिमेकी मुलुक भारतको उत्तर प्रदेश र बिहार राज्यमा पनि यसको माग तीव्र गतिमा बढ्दै गएको जानकारी गराए । उद्योगले गुणस्तरीय प्रोडक्ट, समयमै आपूर्ति र प्रतिस्पर्धी मूल्य नीति अवलम्बन गर्दै आएको उनको दाबी छ ।
मञ्चका अध्यक्ष राजन कसजुले भ्रमणलाई अत्यन्तै जानकारीमूलक र प्रेरणादायी रहेको प्रतिक्रिया दिए । उनले भने, “स्थानीय उद्योगको काम गर्ने शैली, उत्पादन प्रक्रिया र चुनौतीहरूको प्रत्यक्ष अनुभवले दीर्घकालीन साझेदारी, व्यवसायिक सिकाइ र नयाँ बजार विस्तारका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ ।” उद्योग अवलोकन भ्रमण कार्यक्रमले युवा उद्यमीहरूलाई नेपाली उत्पादन प्रणालीबारे बुझ्ने, उद्योगसँग प्रत्यक्ष संवाद गर्ने र नविन सोचको विकासमा मद्दत पुर्याउने विश्वास गरिएको बताए । मञ्चले आगामी दिनमा यस्ता थप भ्रमण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।
