पाँच जना विजयी चेसका विद्यार्थीले छात्रवृत्ति प्राप्त गरे 

पाँच जना विजयी चेसका विद्यार्थीले छात्रवृत्ति प्राप्त गरे 

कपन अनलाइन

काठमाडौं , असार ७ ।

हेटौंडा चेस क्लबद्वारा आयोजना गरिएको विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा पाँचजना विद्यार्थीहरूले विभिन्न छात्रवृत्तिका पुरस्कार प्राप्त गरेका छन्।
मकवानपुर मल्टिपल क्याम्पस हेटौंडामा दुई दिन सम्पन्न ८ चरणको खेलबाट सिद्धार्थ शिशु सदनका विद्यार्थी कृतार्थ ढोडारी ७ अङ्क प्राप्त गर्दै पहिलो स्थान हात पार्न सफल भएका छन्।
कृतार्थले अन्तिम चरणको खेलमा नवोदय शिशु सदन विद्यालयका नाइस लामालाई पराजित गर्दै डाइरेक्ट इन्काउन्टर विधि मार्फत द्वितीय स्थानमा रहन बाध्य बनाएका थिए। कृतार्थले पहिलो स्थान प्राप्त गर्दै १ वर्षको पूर्ण छात्रवृद्धि पुरस्कार प्राप्त गर्न सक्षम भएका छन्।
नवोदय शिशु सदन विद्यालयका नाइस लामा समान ७ अङ्क जोडेर द्वितीय स्थानमा रहँदै ६ महिनाको छात्रवृत्ति पुरस्कार प्राप्त गरेका छन्
प्रतिस्पर्धामा एकल ६.५ अङ्क बनाउँदै नवोदय शिशु सदन विद्यालयका सरल मैनाली तेस्रो स्थानमा रहदै ३ महिनाको छात्रवृत्ति पुरस्कार प्राप्त गरेका छन्।
यस्तै ज्ञान दीप शिक्षा निकै तन्का विषम कोइरालाले ६ अङ्क प्रोग्रेसिभ ३० प्वाइन्टका आधारमा चौथो स्थानमा रहँदै एक महिनाको छात्रवृत्ति पुरस्कार हात पार्न सफल भएका छन्।
यसैगरी नवोदय शिशु सदन विद्यालयका श्रीस कर्मचारीले ६ अङ्क प्रोग्रेसिभ २५ प्वाइन्टका आधारमा पाँचौं स्थान हासिल गर्दै एक महिने छात्रवृत्ति पुरस्कार पाउन सफल भएका छन्।
दुई दिन चलेको सेमी क्लासिकल खेलमा ६६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो भने विजयी खेलाडीहरूलाई कूल २ लाख नगद बराबरको छात्रवृत्ति पुरस्कार वितरण गरिएको छ।
शनिबार सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रम नेपाल बुद्धिचाल महासङ्घ का महासचिव तथा आयोजक क्लबका अध्यक्ष धरम बहादुर लामाको सभा अध्यक्षमा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख तिथि युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख सूर्य बहादुर दाहालले विजयी खेलाडीहरुलाई छात्रवृत्ति पुरस्कार वितरण गरेका छन्।
बुद्धिचाल खेल इतिहासमा नयाँ आयामको सुरुवात गरेको यस छात्रवृत्ति प्रतियोगितामा साक्षी बन्दै अतिथिमा बागमती बुद्धिचाल सङ्घ सदस्य श्रीकृष्ण कर्माचार्य, मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रसिद्ध रेग्मी, नेपाल बुद्धिचाल महासङ्घका पूर्व उपाध्यक्ष नारायणदास गमाल, मकवानपुर जिल्ला बुद्धिचाल संघका कोषाध्यक्ष बुद्ध सापकोटाको उपस्थिति रहेको थियो ।
हेटौडा चेस क्लबका महासचिव किसन घिसिङले सञ्चालन गरेको कार्यक्रममा आगामी वर्ष थप छात्रवृत्ति पुरस्कार सहित दोस्रो संस्करणको खेल आयोजना गर्ने सभाअध्यक्ष धरमबहादुर लामाले जानकारी गराएका छन्।

तपाइँको प्रतिक्रिया ।