एचजेबीएलको फाइनल खेल शनिवार लगनखेलमा हुने
कपन अनलाइन
काठमाण्डौ ,असार ४।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनल खेल आगामी शनिवार (असार ७ गते) हुने भएको छ ।
फाइनल खेल लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने आयोजक नेपाल बास्केटबल संघ (नेबा) ले जनाएको छ ।
उपाधिका लागि गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबबीच फाइनलमा प्रतिस्पर्धा हुँदैछ । ६ टोली सहभागी लिगमा डबल राउण्ड रोविनको खेलपछि गोल्डनेगेट र टाइम्स शीर्ष दुईमा रहेर फाइनल पुगेका हुन् ।
यसअघि लिग चरणका सबै खेलहरु कीर्तिपुरस्थित कीर्तिपुर कभर्डहलमा खेलाइएको थियो । तर फाइनल खेल भने लगनखेलस्थित सेनाको कभर्डहलमा खेलाउन लागिएको नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । ‘फाइनल र तेस्रो स्थानको लागि खेल लगनखेलमा खेलाउनेछौँ । दुवै खेल दिउँसो हुनेछ । दर्शकहरुका लागि पनि फाइनल खेलको मज्जा लिने राम्रो अवसर हुनेछ ।’ नेबा अध्यक्ष गुरुङले भने ।
आगामी शनिबार प्लेअफ अन्तर्गत दुई खेल (फाइनल र तेस्रो स्थानको लागि खेल) हुनेछ । तेस्रो स्थानको लागि खेल बिहान ११ बजे सुरु हुनेछ । त्यसपछि फाइनल खेल हुनेछ ।
लिगमा गोल्डेनगेट पहिलो र टाइम्स दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् भने हाउण्ड्स तेस्रो र कीर्तिपुर बास्केटबल क्लबल चौथो भएको थियो । अब हाउण्ड्स र कीर्तिपुरले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
तेस्रो स्थानको लागि खेल बिहान साढे ११ बजे सुरु हुनेछ । यस्तै गोल्डेनगेट र टाइम्सबीचको फाइनल खेल दिउँसो साढे ३ बजे सुरु हुने आयोजकले जनाएको छ ।
