काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदमा इन्दिरालाई स्वर्ण
कपन अनलाइन
काठमाण्डौ ,असार २।
काठमाडौं महानगरपालिका २९ की इन्दिरा पराजुलीले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा इन्दिराले काठमाडौं महानगरपालिका २९ कै सविता बस्नेतलाई ११–५ र ११–२ को सोझो सेटमा पराजित गरिन् । काठमाडौं महानगरपालिका २९ की सम्झना पोखरेल र काठमाडौं महानगरपालिका ३० की दीपा श्रेष्ठ तेश्रो भए ।
काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा भइरहेको प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुरका जयस्नु महर्जनले कीर्तिपुरकै सफल महर्जनलाई सीधा सेटमा ११–२, ११–६ र ११–९ तथा काठमाडौं महानगरपालिका २ का उज्ज्वल मानन्धरले काठमाडौं महानगरपालिका २६ का आर्यन शाहीलाई ११–९, ११–९ र ११–७ को सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१४ ब्वाइज सिंगल्समा काठमाडौं महानगरपालिका १ का निश्चल थापाले काठमाडौं महानगरपालिका २६ का सम्भवराज वन्तलाई १२–१०, ११–६ र ११–७ तथा काठमाडौं महानगरपालिका २६ का अर्नव श्रेष्ठले काठमाडौं महानगरपालिका १७ का निरभ महर्जनलाई ११–२, ११–६ र ११–२ को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारीलगायतको उपस्थिति रहेको थियो ।