बाल विकास बोर्डिङ हाइ स्कुलद्वारा विजयी खेलाडीहरू सम्मानित
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २१ ।
३० मेदेखि ३१ मेसम्म विश्व मिक्स बक्सिङ्ग महासंघ (WUMA) र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा बूढानीलकण्ठमा आयोजित “एसियन मिक्स बक्सिङ्ग च्याम्पियनसिप”मा सहभागी भई विजयी हुने सबै विद्यार्थीहरूलाई बाल विकास बोर्डिङ हाइ स्कुल ,बूढानीलकण्ठले सम्मान गरेको छ ।
नेपाली टोलीले दोस्रो स्थान हासिल गरेको सो प्रतियोगितामा आफ्ना विद्यार्थीहरूले पनि सानदार र उत्कृष्ट प्रदर्शनी गरेर ऐतिहासिक सफलता हासिल गरेकामा विद्यालयले बधाई तथा कृतज्ञता ज्ञापन गरेको थियो ।
अन्तर्राष्ट्रिय स्तरका रेफ्री तथा विद्यालयका खेलकुद संयोजक सुकमान लामाद्वारा प्रशिक्षित विद्यार्थीहरूले स्वर्ण , रजत र कांस्य पदक हासिल गरेर देशको प्रतिष्ठालाई उच्च बनाउने काम गरेका थिए । प्रतियोगितामा कक्षा दशमा अध्ययनरत सुशील तामाङ सर्वोत्कृष्ट खेलाडीको रूपमा घोषित भएका थिए । सो प्रतियोगितामा सुजन तामाङ ,सचिन श्रेष्ठ ,पवन बिष्ट ,रुपेश खतिवडा र सुशील तामाङले स्वर्ण पदक हासिल गरेका थिए भने सोनिका भुजेल ,सोनिया माझी ,श्रवण माझी ,कृतिका तामाङ ,वीरध्वज ऐडीले रजत पदक जित्न सफल भएका थिए । त्यसैगरी सोमिया थिङ ,निर्जरा राई , आनिमा राई ,दीपजन तामाङ र आयुष रोक्का मगर कांस्य पदक हासिल गर्न सफल भएका थिए ।
विद्यालयको साथै देशको समेत उचाइ बढाउने काम गरेकाले विजयी खेलाडीहरूलाई विद्यालयले भव्य कार्यक्रमको आयोजना गरी सम्मानित गरेको कुरा विद्यालयका संस्थापक अध्यक्षले सगौरव बताए ।
यसै कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी घोषणा भएका विद्यार्थी सुशील तामाङलाई विद्यालयका कार्यवाहक प्रधानाध्यापक दिनेश श्रेष्ठद्वारा सम्मान र हौसलास्वरुप नगद रु पाँच हजार पनि हस्तान्तरण गरिएको थियो । बाल विकास बोर्डिङ हाई स्कुलका अङ्ग्रेजी विभाग प्रमुख किशोर के. सीले कार्यक्रम सञ्चालकको भूमिका र कक्षा १० की छात्रा सुप्रिया मैनालीले सह सञ्चालकको रूपमा भूमिका निर्वाह गरेको सो प्रतियोगितामा उद्घोषण पक्ष एकदमै सबल रहेकाले विद्यालयले उनिहरूप्रति पनि सोही कार्यक्रममार्फत बधाई तथा धन्यवाद ज्ञापन गरेको थियो ।
खेल क्षेत्रमा उत्कृष्ट योगदान गर्दै आउनुभएको अन्तर्राष्ट्रिय स्तरका रेफ्री तथा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सुकमान लामा एसियन मिक्स बक्सिङ महासङ्घका महासचिव पदमा छनोट हुनुभएकाले विद्यालयले विशेष गौरवान्वित हुँदै उहाँप्रति बधाई तथा शुभकामना पनि व्यक्त गरेको थियो ।

