बुढानिलकण्ठ नगरपालिका वडा नं. १ को आयोजनामा ‘EFS Fight Night 6’ हुने
कपन अनलाइन
काठमाण्डौ, बैशाख १० ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. १ को आयोजनामा ‘EFS Fight Night 6’ प्रतियोगिता आयोजना हुने भएको छ। यो कार्यक्रम आगामी बैशाख २८ गते Lemon Tree Premier, बुढानिलकण्ठ-१ मा हुनेछ।
कार्यक्रममा मुवा थाई, बक्सिङ्ग तथा प्रि-एक्सपर्ट स्तरका गरी जम्मा १५ वटा प्रतिस्पर्धात्मक फाइटहरू समावेश हुने छन्। त्यसमा ३ वटा प्रोफेसनल मुवा थाई, ३ वटा प्रोफेसनल बक्सिङ्ग तथा ९ वटा प्रि-एक्सपर्ट मुवा थाई नियमअनुसारका फाइटहरू हुने जनाइएको छ।
यस प्रतियोगिताको मुख्य आकर्षणको रूपमा महिला सुपर फ्लाईवेट डिभिजन अन्तर्गत राष्ट्रिय उपाधिका लागि रजिना बिष्ट र अफ्सरा तामाङबीचको प्रतिस्पर्धा रहनेछ। यो फाइटले महिलाको आत्मबल अभिवृद्धि गर्नुका साथै नेपालमा महिला खेलाडीको प्रतिनिधित्वलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।
WBC मुवा थाई नेपाल र बुढानिलकण्ठ नगरपालिका वडा नं. १ द्वारा आयोजना गरिएको सो प्रतियोगितामा नेपाल राष्ट्रिय मुवा थाई संघ र नेपाल बक्सिङ महासंघको सहकार्य रहेको छ।
यस प्रतियोगिताको अपरेशनल पार्टनरको रूपमा 977 Athletic Department, प्रसारण पार्टनर PSN, होस्पिटालिटी पार्टनर Lemon Tree Premier र मेडिकल पार्टनर विराजु रहेका छन्। फुड पार्टनरमा नेवा गोल्फु छे रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै बुढानिलकण्ठ वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्र लामाले यो कार्यक्रम वडा तथा सम्पूर्ण नगरपालिकाका लागि गौरवको विषय भएको बताए । उनले भने, “हाम्रो वडाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको छ। ‘EFS Fight Night 6’ जस्तो राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नु हामी सबैका लागि गौरवको विषय हो। यो कार्यक्रमले महिलाहरूमा आत्मविश्वास बढाउनेछ र युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्नेछ।”